डोल्पो बुद्ध गाउँपालिकाका सर्वसाधारणले मागे सुरक्षा

लोकपथ
168
Shares

सुर्खेत । उपल्लो डोल्पाका सर्वसाधारणले स्वतन्त्र रूपमा मतदान गर्नुपर्ने भन्दै सुरक्षा माग गरेका छन् । डोल्पो बुद्ध गाउँपालिकाको धो तरापमा बसेको स्थानीय र जनप्रतिनिधिको भेलाले सुरक्षाको माग गरेका हुन् ।

सयौँ युवाहरू डोल्पोबुद्धमा परिचालन गरेर निर्वाचनमा धाँधली गरी मतदानस्थल कब्जा गर्ने रणनीति सुरु भएको भन्दै सर्वसाधारणले सुरक्षाको माग गरेका हुन् ।

केही समयअघि माओवादी केन्द्रका अध्यक्षले उपल्लो डोल्पामा भ्रमण गर्दासमेत सुरक्षाकै माग गरिएको थियो । आफूहरूले कहिल्यै पनि स्वतन्त्र रूपमा मतदान गर्न नपाएको भन्दै उनीहरूले तत्काल सुरक्षा दिन जिल्लास्थित सरकारी संयन्त्रसँग माग गरेका छन् । उनीहरूले पटक–पटक उपल्लो डोल्पामा लुटपाटदेखि विभिन्न अपराध हुँदै आए पनि राज्य मौन बसेको समेत आरोप लगाएका छन् ।

उपल्लो डोल्पाको तीन पालिकामा एकलौटी गर्दै आएको समूहले फेरि पनि स्वतन्त्ररूपमा मतदान गर्न नदिन गुण्डाहरू परिचालन गरेको जनप्रतिनिधिले बताएका छन् । अपरिचित मान्छेहरूको ठूलो समूह डोल्पोबुद्धमा प्रवेश गरेको प्रहरीले पनि स्वीकार गरेको छ ।

यता प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले सुरक्षाकर्मी परिचालनको काम सुरु भएको बताए । सुरक्षाको माग गरेको आफूसम्म आइपुगेको र सोहीअनुसार काम भएको प्रजिअ अधिकारीले बताए । २०७० सालमा धो तरापमा गोलबजारमा दुईजनाको हत्या भए पनि अहिलेसम्म न्याय नपाएको आवाज उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?