नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । उनलाई मन्त्रिपरिषदको चैत्र २४ गतेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गरे ।
सो अवसरमा उनले कार्यालय प्रयोजनका सबै काम कारवाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालित रुपमा तत्काल कार्यान्वयनमा लैजाने संरचनामा ढाली कम्पनीका सबै सेवाहरुलाई आम जनताको सहज र सुलभ पहुँचमा पु¥याउनका लागि हामी सबै प्रतिबद्ध हुनुपर्ने बताए । उनले कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा स्थापित गर्न आफू प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।
पदबहाली कार्यक्रममा नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक, अन्य बरिष्ठ अधिकृत, कम्पनीमा क्रियाशील कर्मचारी युनियनका पदाधिकारी एवं कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।
प्रबन्ध निर्देशक पौडेल यसअघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक पदमा कार्यरत थिए । उनले सो केन्द्रमा सन् २००४ देखि कार्यरत रही कम्प्युटर इञ्जिनियर, सहायक निर्देशक तथा उपनिर्देशकको जिम्मेवारी वहन गरिसकेका छन् ।
उनले सन् २००८ मा दक्षिण कोरियाको कोरिया एड्भान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (काइस्ट) बाट सूचना प्रविधिमा स्नातकोत्तरको उपाधि हासिल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया