प्रधानमन्त्री देउवा नयाँदिल्लीमा : भारतीय राज्यमन्त्रीले गरे स्वागत, विदेशमन्त्रीले आजै भेट्ने

लोकपथ
630
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा नयाँदिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी त्यसतर्फ गएका हुन् ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवासँग स्थानीय समयअनुसार आज ४ः३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले नयाँदिल्लीस्थित होटल आइटीसीमा शिष्टाचार भेट गर्नेछन् ।

त्यसपछि प्रधानमन्त्री देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा जाने कार्यक्रम रहेको छ ।

शनिबार स्थानीय समयअनुसार बिहान १०:४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११:१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्याह्न १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयुक्त विज्ञप्ति जारी गरिनेछ ।

शनिबार नै दिउँसो ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४ः१५ बजे स्वदेश फर्कनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?