लेटाङ घटनाबारे नेता पौडेल भन्छन्- ‘सामाजिक सुरक्षामाथि गम्भीर प्रश्न चिन्ह खडा भयो’

लोकपथ
700
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले मोरङको लेटाङमा भएको घटनाबारे सत्यतथ्य छानविन गर्न माग गरेका छन् ।

नेता पौडेलले एउटा अपराधको घटना कानुनी रूपमा अघि बढ्दै गर्दै अर्को दुःखद घटना घट्नुले मर्माहत भएको बताए ।

सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले यस्ता घटनाहरु बारम्बार दोहोरिँदै जाँदा सामाजिक सुरक्षामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको बताए ।

‘निष्पक्ष छानबिन गरेर कानुनी उपचार खोज्ने र दोषीलाई कारवाही गर्नुपर्ने यस्ता घटनामा सामाजिक अवरोधले गर्दा थप दुर्घटना भएका यस्ता गम्भीर विषय हाम्रो समाजमा धेरै छन् । त्यस्ता घटना बारम्बार दोहोरिदै जाँदा सामाजिक सुरक्षामाथि गम्भिर प्रश्न खडा भएका छन् ।’ नेता पौडेलले भने ।

उक्त घटनामा मृत्यु भएकी प्रहरी जवान उर्मीला श्रेष्ठप्रति श्रद्धान्जली र घाइतेप्रति स्वास्थ्य लाभको कामना व्यक्त गर्दै अहिलेको अवस्थामा संयमित भएर कानुनी उपचार खोज्नु नै बुद्धिमता हुने बताए ।

‘मृतक प्रहरी श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’ उनले भनेका छन्, ‘घाइते भएकाह?को सिघ्र स्वस्थ लाभको कामना गर्दछु । त्यसैले हामी सबैले संयमित भएर कानुनी उपचार खोज्नु नै बुद्धिमता हुन्छ । आवेग र आक्रोशले कुनै समस्याको समाधान दिन सक्दैन त्यसैले थप घटना दोहोरिन नदिन सबैमा अनुरोध गर्दछु । दुवै घटनामा सम्लग्न दोषीलाई कानुनी कारवाही गर्न जोडदार माग गर्दछु ।’

शनिबार होली खेल्ने क्रममा मोरङको लेटाङस्थित विद्यालयका शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेपछि विद्यालयमा छलफल भइरहेका बेला विवाद उत्पन्न भइ झडप भएको थियो । आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा गर्दा सुरक्षार्थ खटिएकी प्रहरी जवान श्रेष्ठ मारिएकी थिइन् भने अन्य प्रहरी समेत घाइते भएका छन् । हाल घटनाका दोषी र बालिकामाथि दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?