कर्मचारी अभाव हटाउन प्रदेश र स्थानीय तहमा नायब सुब्बा खटाइने

लोकपथ
224
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन थप कर्मचारी खटाउने निर्णय गरेको छ ।

मन्त्रालयले कर्मचारी अभावका कारण सेवा प्रवाह तथा नियमित कामकाजमा समस्या देखिएका प्रदेश र स्थानीय तहमा आवश्यकताअनुसार कर्मचारी पठाउने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी ‘नायब सुब्बा’ पदका कर्मचारीलाई अतिरिक्त समूहमा दरबन्दी कायम गरी विभिन्न कार्यालयमा कामकाजका लागि खटाइनेछ ।

यसका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहलाई आवश्यक कर्मचारीको संख्या खुलाएर पठाउन आग्रह गरेको छ । केही प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीअनुसार कर्मचारी पदपूर्ति हुन नसक्दा सेवाप्रवाहमा असर परेको मन्त्रालयको भनाइ छ ।

मन्त्रीस्तरीय निर्णयअनुसार कर्मचारी समायोजन ऐन, २०७५ को दफा ९ को उपदफा ९१० बमोजिम सम्बन्धित प्रदेश तथा स्थानीय तहको सहमतिमा कर्मचारी खटाइनेछ ।

यसरी खटाइएका कर्मचारीको तलब तथा भत्ता भने सम्बन्धित प्रदेश वा स्थानीय तहले नै भुक्तानी गर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?