काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद क्षेत्रमा बजेट बढाउन पहल गरिदिन संसदीय समितिको ध्यानाकर्षण गराएका छन् । मन्त्री गहतराजले खेलकुद क्षेत्रमा राज्यले गरेको लगानीको अवस्था दयनीय रहेको उल्लेख गर्दै त्यसलाई बढाउनका लागि पहल गरिदिन संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको ध्यानाकर्षण गराएका हुन् ।
मंगलबार समितिको बैठकमा बोल्दै उनले खेलकुद क्षेत्र उत्पादनमूलक क्षेत्र भएको र त्यसमा लगानी बढाउनुपर्छ भन्ने मान्यता राज्यमा विकास गराउन पनि सम्बन्धित सबै पक्षले सहयोग गर्नुपर्ने बताए । मन्त्री गहतराजले बजेट अभावकै कारण खेलाडीहरुको मनोबल उच्च बढाउन र खेलकुद क्षेत्रको पूर्वाधार विकासका कामहरु अघि बढाउन नसकिएको पनि स्पष्ट पारे ।
उनले अदालतका अल्पकालिन आदेशका कारण पनि खेलकुद क्षेत्रको, युवाहरुलाई सशक्तिकरण गर्ने कार्यक्रमहरु अघि बढाउन समस्या भईरहेको स्मरण गराए । मन्त्री गहतराजले खेलकुद क्षेत्रको राम्रो प्रतिफल लिनका लागि त्यसमा लगानी बढाउनुको विकल्प नरहेको पनि पटकपटक दोहोर्याए ।
बैठकमा बोल्दै मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले खेलकुद क्षेत्रको गतिविधिलाई चलायमान हुने गरी आवश्यक ऐनहरु संशोधनको कामलाई अघि बढाइएको जानकारी समितिलाई गराए । उनले सर्वोच्च अदालतको अल्पकालिन आदेशका कारण राष्ट्रिय खेलकुद परिषदलगायतका निकायहरुको काम प्रभावित भईरहेको बताए ।
सचिव रेग्मीले खेलाडीहरुको मनोबल बढाउन र युवाहरुलाई सशक्तिकरण गरेर राष्ट्र निर्माणमा लगाउने खालका काम बजेटको अभावमा प्रभावकारी हुन नसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया