मुगु । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । चन्द्रले सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए ।
सुन्तलीको परिवारले लगेर चन्द्रलाई निर्घात कुटपिट गरेर बेपत्ता पारेको आरोप लागिरहेका बेला उनी फेला परेका हुन् ।
अन्तरजातीय युवतीसँग विवाह गरी युवक बेपत्ता पारेको विषय प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजीकार्य तीव्र पार्न निर्देशन दिएको थियो ।
प्रहरीले खोजी तीव्र पारेपछि बुधबार बिहान खार्पुनाथ प्रहरी चौकीले बेपत्ता पारिएका भनिएका चन्द्रेलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।
बाटोमा हिँड्दै गरेका क्रममा उनलाई खार्पु प्रहरी चौकीका सुरक्षाकर्मीले भेटाएको निरीक्षक भण्डारीले बताए । सर्केगाड गाउँपालिका–१ को जैर गाउँका १९ वर्षीय चन्द्रे र मुगु सोरु गाउँपालिका–४ को लिप्रु गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग ५ मंसिरमा अन्तरजातीय विवाह गरेका हुन् ।
तर, उनीहरू दुवैलाई २९ मंसिरमा माइती पक्षले बोलाएर लगेको र त्यसपछि चन्द्रेलाई कुटपिट गरेर बेपत्ता पारेको आरोप कामी परिवारले लगाउँदै प्रहरीमा उजुरी दिएका थिए ।
यसपछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायब उपरीक्षक हेरम्ब शर्मा आफैँ घटनास्थलमा पुगेर चन्द्रेको खोजीकार्यमा जुटेका हुन् ।
प्रहरीले माइत पक्षका बुवा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ भने युवक सम्पर्कमा आएकाले थप अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया