पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन चर्काउने विद्यार्थी संगठनहरुको चेतावनी

लोकपथ
168
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नगरे आन्दोलन थप चर्काउने विद्यार्थी संगठनहरुले बताएका छन् ।

सोमवार निगम र विद्यार्थी संगठनहरुबीच भएको वार्ता पछि आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै विद्यार्थी नेताहरुले मूल्यवृद्धि फिर्ता नलिए आन्दोनल चर्काउने चेतावनी दिएका हुन् । अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नेपाल आयल निगमले बारम्बार पेट्रोलियम पदार्थको मूल्य समायोजनका नाममा जनताको ढाड सेकेको बताइन् । पछिल्लो समयमा बढाइएको मूल्य नघटाए कडा आन्दोलन गर्ने चेतावनी उनले दिइन् । अत्याधिक मूल्यबृद्धि गर्दापनि निगम घाटामा गयो भन्नेकुरा हास्यास्पद भएको उनको भनाई छ ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले व्यक्ति मोटाउने र जनता चुस्ने उपमाको रुपमा आयल निगम भएको बताए । आफ्नो संगठन सम्पूर्ण विद्यार्थी संगठनहरुसँग हातेमालो गरेर वृद्धि भएको मूल्य खारेजी अभियानमा लाग्ने उनले बताए ।

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आफ्नो पार्टी सत्तामा भएपनि उसले गर्ने राम्रो कार्यलाई साथ र जनतालाई पेल्ने कार्यको विरोध गर्ने धारणा राखे । उनले नेपाल आयल निगममा व्यापक भ्रष्टाचार भइरहेको र त्यसलाई छानविन गर्नुपर्ने पनि बताए । अध्यक्ष पराजुलीले मुल्य फिर्ता नभए कडा भन्दा कडा आन्दोलन गर्ने बताए ।

कार्यक्रममा निगमका प्रवक्ता विनितमणी उपाध्यायले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगरेर समायोजन गरेको र निगम चरम संकटमा पर्दैै गएकाले आफूहरुले एक महिनामा २ पटक मूल्य समायोजन गर्नु परेको बताए । उनले पहिले १० रुपैयाँसम्म मूल्य घटाएर मूल्य समायोजन गरेको दृष्टान्त पनि दिए ।

आयल निगम घाटामा भएको विषय दुनियाँको कुनैपनि ठाउँमा गएर पुष्टि हुने र पेट्रोलियम पदार्थमा पूर्णरुपले विदेशमा निर्भर रहनुपर्ने भएकाले आफूहरुको काबुमा नरहेको उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?