पूर्वन्यायाधीश फोरमको दाबी : राणा न्यायालयको नेतृत्व गर्न अक्षम ! (विज्ञप्तिसहित)

लोकपथ
119
Shares

काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायालयको नेतृत्व गर्न नसकेको आरोप लगाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश राणा वैधानिक बाटोबाट सर्वोच्च प्रवेश गर्न नसकेको बताउँदै जिम्मेवारीबाट भाग्ने मानिसले न्यायालयको नेतृत्व गर्न नसक्ने बताएको छ ।

‘वैधानिक बाटोबाट अदालत प्रवेश नै गर्न नसक्ने, प्रहरीको संरक्षण खोज्ने, जिम्मेवारीबाट पन्छिने व्यक्तिबाट न्यायपालिकाको नेतृत्व हुन सक्दैन भन्ने हाम्रो ठहर छ’, जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै न्यायप्रतिको आस्था, विस्वास, प्रतिबद्धता, सहयोग र सम्मान पनि न्यायाधीशको सुरक्षा कवच रहेको प्रधानन्यायाधीशले भुल्न नहुने समेत पूर्वन्यायाधीश फोरमको ठहर रहेको छ ।

बार र बेञ्चबीचको अन्योन्याश्रित सम्बन्ध हुने बताउँदै प्रधानन्यायाधीशले न्यायपालिकाको अभिन्न अंग बारको समेत विश्वास गुमाएको पूर्वन्यायाधीश फोरमको जिकिर रहेको छ ।

‘बार र बेन्चबीचको अन्योन्याश्रित सम्बन्ध, सद्भाव र सहयोगको आधारमा न्यायपालिकाको जग अडेको हुन्छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायपालिकाको अभिन्न अंग बारको विश्वास गुमाउनु भएको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बारसँग वार्ताको लागि गरेको आह्वान भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास भएको समेत पूर्वन्यायाधीश फोरमको आरोप रहेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७८/०७/२९ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाट जारी गरिएको वार्ताका लागि आह्वान गरेको विज्ञप्ति न्यायका विचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास मात्र हो । यो न्यायालयको हितमा रहेको देखिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?