काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित भई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आफन्त तथा चिनजानका व्यक्तिको सहारामा बस्दै आएका ५४५ घरपरिवारलाई समाजसेवी सरोज न्यौपानेको पहलमा राहत सामग्री वितरण गरिएको छ ।
बाढी प्रभावित परिवारलाई खाद्यन्न, लत्ताकपडा, खाना पकाउने भाँडाकुँडालगायत दैनिक जीवनयापनका लागि आवश्यक सामग्री उपलब्ध गराइएको हो ।
बाढीपछि राहत तथा सहयोगका कार्यक्रमहरू मुख्यतः प्रभावित जिल्लामै केन्द्रित भइरहेका बेला काठमाडौंमा बसोबास गरिरहेका पीडित परिवार राहतबाट छुट्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरू बसोबास गरिरहेको स्थानमै पुगेर राहत उपलब्ध गराइएको न्यौपानेले बताए ।
बाढी आएदेखि नै पीडितको आवश्यकता पहिचान तथा राहत व्यवस्थापनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पूर्वाधार विकाससम्बन्धी निकाय, नेपाल रेडक्रस सोसाइटी तथा लायन्स क्लब लगायतका विभिन्न निकायसँग निरन्तर समन्वय गर्दै आएको न्यौपानेको भनाइ छ ।
तर, राहत अभियानको अगुवाइ गरिरहेका न्यौपाने स्वयं भने गहिरो व्यक्तिगत पीडामा छन् । बाढीका कारण उनकै परिवारका १० जना सदस्य अझै बेपत्ता छन् । परिवारका सदस्यहरूको अवस्था अज्ञात रहँदा पनि व्यक्तिगत पीडालाई थाती राखेर उनी बाढी प्रभावितको उद्धार, राहत र व्यवस्थापनमा निरन्तर खटिरहेका छन् ।
विशेषगरी रसुवाको उत्तरगया क्षेत्रका बाढी प्रभावित परिवारले प्रत्यक्ष रूपमा राहत प्राप्त गरेको बताएका छन् । बाढीका कारण घर, व्यवसाय तथा दैनिक जीवनयापनमा ठूलो क्षति व्यहोरेका पीडितहरू काठमाडौंमा आएर आफन्तको आश्रयमा बसिरहेका छन् ।
कतिपय पीडितहरू आफ्ना दिवंगत आफन्तको किरिया कर्ममा समेत रहेका अवस्थामा राहत उपलब्ध गराइएकाले दुःखको घडीमा केही राहत मिलेको उनीहरूले बताएका छन् ।
राहत वितरणका क्रममा न्यौपानेले बाढीबाट प्रभावित नागरिकको पीडामा सकेसम्म मलम लगाउने उद्देश्यले आफूले अभियान थालेको बताए ।
‘बाढी प्रभावितको पीडामा मलम लगाउन र कठिन अवस्थामा रहेका परिवारलाई केही सहज बनाउन कुनै कसर बाँकी राख्ने छैनौँ,’ उनले भने ।
बाढीपछि विस्थापित भएर काठमाडौंमा आश्रय लिइरहेका प्रभावित परिवारको अवस्था बुझ्दै आवश्यक सहयोगलाई निरन्तरता दिने तथा वास्तविक पीडितसम्म राहत पुर्याउन सम्बन्धित सरकारी निकाय, सामाजिक संघसंस्था र सहयोगीहरूसँग थप समन्वय गर्ने न्यौपानेले प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले बाढी प्रभावित परिवारको गास, बास र कपासको व्यवस्थापनमा सहयोग पुर्याउन आफू निरन्तर सक्रिय रहने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया