काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनगणनाले देशको विकास निर्माणका लागि योजना बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
शुक्रबार आफ्नै सरकारी निवास बालुवाटार पुगेको केन्द्रीय तथ्यांक विभागको टोलीलाई आफ्नो विवरण टिपाइसकेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदैँ उनले जनगणनाले देशको विकास निर्माणको योजना तर्जुमा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
जनगणनाको प्रश्नावलीमा धेरै विषयवस्तु समेटिएको भन्दै उनले प्रश्न अनुसारको सही उत्तर दिएमा देशको यथार्थ चित्र आउने विश्वास समेत व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले गणकहरुले मानिसहरुलाई सम्झाएर, बुझाएर यथार्थ तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिए ।
उनले भने – ‘जनगणनाको धेरै ठुलो अर्थ पनि छ । यो राष्ट्रको विकासको सुचकांक हामी कसरी अगाडी बढ्दैछौ, भविष्यमा कहाँ पुग्ने त्यसका लागि विकास निर्माणको योजना निर्माण गर्ने वडा तहदेखि, वस्ती तहदेखि राष्ट्रसम्मको योजना निर्माण गर्नका लागि तथ्यांकको ठुलो महत्व हुन्छ । किनकी यसमा सबै विषयवस्तुलाई समेटेर प्रश्नावली बनाएको छ र त्यो अनुसारको सही उत्तर दिदाँखेरी देशको सही चित्र प्रकट हुनसक्छ । यसकारण सबैले गम्भिरतापूर्वक झिझो नमानीकन पहिलो कुरा त गणकहरुले राम्रोसँग त्यहाँको घरबेटीलाई सम्झाउनुपर्ने हुन्छ । कतिपय नबुझ्नु होला, झर्कनुहोला उहाँहरुलाई यसको महत्व बुझाइसक्ने, गोपनीयतापनि रहन्छ । कतिलाई त फेरी त्यसको स्रोतहरु के कसो होला सबै बताउँदा भन्ने पनि डर हुन सक्छ । त्योबाट मुक्त हुनेकुरा यहाँले प्रशिक्षण गरेर त्यो सबै गरेका छन् । त्यो ढंगले जाँदाखेरी देशको सही तथ्यांक आउँछ । हाम्रो एउटा ऐना हो यो । देशको ऐनामा अनुहार प्रष्ट देखिइसकेपछि जति खुलेर आफ्नो विवरण दिन्छौँ, सफा ऐनामा अनुहार हेरेजस्तो हुन्छ । त्यसो हुनासाथ अब हामी कहाँ छौँ, कसरी अगाडी बढ्ने, कहाँ पुग्छौँ भन्ने कुराहरु सबै त्यहाँबाट लिनसक्ने र यसको ठुलो महत्व छ । यो कुरालाई आत्मासात् गरेर सबै देशबासीहरुले उनीहरुलाई सहयोग गर्ने, खुलेर आफ्ना कुराहरु राख्ने, सोधेको विवरण राम्रोसँग दिने, त्यो सुरक्षित रहन्छ । गोप्य रहन्छ र त्यो बापत् कुनैखालको अप्ठ्यारो पर्दैन भन्ने कुरालाई पनि म यस सन्दर्भमा राख्न चाहान्छु ।’
अध्यक्ष तिमिल्सिनाले जनगणनामा टिपाएको विवरणहरु गोप्य हुने भन्दै खुलेर आफ्नो सही विवरण गणकलाई टिपाउन पनि सबैलाई आग्रह गरे । गत कार्तिक २५ गतेदेखि सुरु भएको बाह्रौ राष्ट्रिय जनगणना मंसिर ९ गतेसम्म हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया