सांसद पाण्डेले गरे आफ्नो पारिश्रमिक विकास निर्माणमा खर्च गर्ने घोषणा

लोकपथ
105
Shares

पाल्पा । क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेले यही कात्तिक १ देखिको सांसदको बाँकी अवधिभरको तलब भत्ता जिल्लाको विकास निर्माण खर्च गर्ने घोषणा गरेका छन् । तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता जनताको समस्या समाधानमा खर्च गर्छु । ”

पूर्व उद्योगमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य पाण्डेले सांसदको पारिश्रमिकबाट जिल्लाको स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा अशक्त, असाहय, वृद्धा र बालबालिकाका क्षेत्रमा खर्च गर्ने जानकारी दिए ।

पाल्पालाई ढाका कपडा राजधानी बनाइने

ढाका कपडाको राजधानीका रूपमा जिल्लालाई विकास गर्न सरोकारवाला निकायसँग छलफल थालिएको छ । पाल्पाली ढाका सङ्घले ढाकाको राजधानीका रूपमा विकास गर्न लुम्बिनी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल जुटेको हो । तानद्वारा उत्पादित ढाका कपडा ब्रान्डिङ गरी पछिल्लो समय बजार पठाउन थालिएको हो ।

कार्यक्रममा ढाका कपडाको गुणस्तर कायम गर्न मापदण्डअनुसार उत्पादन गर्नुपर्ने सरोकारवाला निकायको धारणा थियो । प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले लुम्बिनी प्रदेशको पहिचानकै रूपमा ढाका कपडालाई विकास गरी स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्न सकिने बताए ।

उनले भने “ ढाका कपडा मागअनुसार आपूर्ति हुन सकिरहेको छैन , यसतर्फ सङ्घको ध्यान जानुपर्छ ।” प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले महिलाको सीप विकास गरी उद्यमशीलता विकासमा प्रदेश सरकारले सहयोग गर्ने जानकारीदिनुभयो । महिला आर्थिक, सामाजिकरूपमा सक्षम भएमा सुखी परिवार निर्माण हुने भएकाले महिलाहरूलाई उद्यमशील बनाउन आवश्यक रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?