सिन्धुपाल्चोक । सामाजिककार्यमा सक्रिय हिमालयन फाउण्डेशन कर्प न्यूयोर्क एण्ड क्यालिफोर्नियाले हेलम्बुका बाढीपीडितका लागि १० घर निर्माण गरिदिने भएको छ । काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीको आतिथ्यतामा बुधवार हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पा र हिमालयन फाउण्डेशनका संस्थापक यज्ञलाल श्रेष्ठबीच सो सम्झौतापत्रमा यहाँ हस्ताक्षर भयो । प्रतिघर चारलाख रुपैयाँ खर्च हुने जनाइएको छ ।
“अमेरिकामा बसे पनि आफ्नो गाउँघर सम्झिएर बाढीपीडितलाई सहयोग गर्न लागेकोमा खुशी लाग्यो”, कार्यक्रममा उपप्रमुख खड्गीले भनिन्, “जो जहाँ रहे पनि एउटा नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नु निकै राम्रो कुरा हो । म पनि बाढीपीडितका लागि आफूले सकेजति पहल गर्छु ।”गाउँपालिका अध्यक्ष शेर्पाले गाउँपालिकासँगका सहकार्यमा फाउण्डेशनले बाढीपीडितका लागि घर बनाउने जमर्को गरेकामा खुशी व्यक्त गरे ।
कार्यक्रममा मेलम्ची नगरपालिका–७ का अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, तामाङ को–अपरेशन सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष शेरबहादुर लामा, प्रोफेसर प्रकाश खड्गी, चलचित्र पत्रकार सङ्घका पूर्वउपाध्यक्ष लक्ष्मण सुवेदीलगायतले सामाजिक कार्यमा सबैले सहयोग पु¥याउन आवश्यक छ भने । आफू सोही ठाउँमा जन्मे हुर्किएकाले सिन्धुपाल्चोकमा केही घटना हुँदा निकै मन पोल्ने गरेको फाउण्डेशनका संस्थापक श्रेष्ठले बताए । गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका थुप्रै वडामा ठूलो जनधनको क्षति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया