आफूलाई लोकतान्त्रिक पार्टी भन्नेहरु महाअधिवेशन गर्न नसकेर वर्षौदेखी हल्ली रहेका छन् : ओली

लोकपथ
175
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले समयमै महाअधिवेशन गर्न नसकेको आरोप लगाएका छन् ।

शनिबार एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मुलुकभर वडास्तरका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सो आरोप लगाएका हुन् ।

“केही पार्टीहरु जसले आफूलाई लोकतान्त्रिक पार्टी भन्छन् महाअधिवेशन गर्न नसकेर वर्षौदेखी हल्ली रहेका छन् । ५ वर्षको अवधि पार गरेर, त्यस अवधिपछि फेरी ६ महिनाको अवधि पार गरेर, फेरी अर्को थप ६ महिनाको अवधि भित्र गुज्रीराखेको छ । त्यसमा पनि अहिलेसम्म १३ वटा जिल्लामा केही भयो होला ।” अध्यक्ष ओलीले भनेका छन् ।

पार्टीको वडा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् । ओलीले सर्वसम्मतिका साथ अधिवेशन सम्पन्न हुने विश्वास लिएको बताएका छन् ।

इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ ।

एमाले केन्द्रीय कार्यालयले हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाएको छ ।

यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।

यो पनि पढ्नुहोस्  : एमाले अध्यक्ष केपी ओलीले गरे वडास्तरको अधिवेशन उद्घाटन (भिडियोसहित)

चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ । एमालेको स्थायी कमिटीको शुक्रबारको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नाका साथै समितिका केही सदस्य थप गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?