एमाले अध्यक्ष केपी ओलीले गरे वडास्तरको अधिवेशन उद्घाटन (भिडियोसहित)

लोकपथ
98
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन उद्घाटन गरेका छन् ।

पार्टीको वडा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् । ओलीले देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन गर्दै सर्वसम्मतिका साथ अधिवेशन सम्पन्न हुने विश्वास लिएको बताए ।

 

इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ ।

 

एमाले केन्द्रीय कार्यालयले हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाएको छ ।

यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।

चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ । एमालेको स्थायी कमिटीको शुक्रबारको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नाका साथै समितिका केही सदस्य थप गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?