काठमाडौं । भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
उक्त समारोहमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले सहभागीता जनाएका थिए।
समारोहमा भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनल लिमिटेडले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको थियो ।
भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको छ ।

भारत सरकारको आर्थिक सहयोग अन्तर्गत ८ अर्ब ७७ करोड रुपैयाँमा निर्माण भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गकै एक हिस्सा हो । यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज रेलमार्गको रुपमा रहेको थियो । जयनगर–कुर्था खण्डमा कूल ८ वटा स्टेशन र साना स्टेशन रहेका छन् जसमा जनकपुरको ऐतिहासिक महत्वको शहर पनि सामेल छ ।
सञ्चालनमा आए लगत्तै यो भारत र नेपालबीचको पहिलो ब्रोड गज सीमापार रेलमार्ग हुनेछ । यसले दुई देशबीचको व्यापार र वाणिज्य गतिविधिहरुलाई थप बढावा दिनुका साथै जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्नेछ ।
सीमापार रेल सञ्जाल भारत–नेपाल विकास सहकार्यको एक महत्वपूर्ण पक्ष हो जसमा जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्ग र १८.६ किलोमिटर जोगबनी–विराटनगर रेलमार्ग समाविष्ट छन् । यी दुवै रेलमार्ग भारत सरकारको आर्थिक सहायता अन्तर्गत निर्माण भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया