वर्षाले ग्रामीण सडक अवरुद्ध

RSS
119
Shares
file photo

गलेश्वर । लगातारको वर्षाले ग्रामीण सडक अवरुद्ध हुँदा आएपछि दशैँ मनाएर कार्यक्षेत्रमा फर्किने समस्यामा परेका छन् । टीका थाप्न आफन्तकामा गएका व्यक्तिले समेत ग्रामीण सडकका कारण सास्ती भोग्नुपरेको छ । खुलेको मौसममा दशैँ मनाइरहेकाहरूलाई आइतबार रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण समस्या उत्पन्न भएको छ । कालोपत्र सडकको सुविधा भएको ठाउँमा वर्षाकै बीचमा पनि सवारी फाट्टफुट्ट चले पनि ग्रामीण क्षेत्रमा आउजाउ गर्ने गाडी सञ्चालनमा समस्या हुँदा गन्तव्यमा फर्किनेलाई सास्ती भएको पीडितहरुले बताएका छन् ।

दशैँ मनाउन घरमा आएका ज्यामरुककोटका योगराज शर्मालाई आफ्नो कार्यक्षेत्र दाङमा पुग्न समस्या भएको छ । “ आइतबारदेखि लगातार पानी परिरहेको छ, वर्षाका कारण गाउँबाट बागलुङसम्म जाने गाडी चलेका छैनन्,” जनता क्याम्पस दाङका क्याम्पस प्रमुख शर्माले भने, “बागलुङदेखि पोखरासम्मको सडक पनि जोखिमयुक्त रहेकाले आज मङ्गलबार जाने आँट गर्न सकिनँ ।”

उनको जस्तै समस्या धेरैले भोगेका छन् । दशैँ बिदामा मुस्ताङ र म्याग्दीको घोडेपानी, पुनहिल लगायतका पर्यटकीय क्षेत्रमा घुमघामका लागि आएका व्यक्ति सडककै कारण आफ्नो घरमा फर्किन नसकेका नवलपुरको गौडाकोट नगरपालिका–१२ हर्कपुरबाट मुस्ताङ भ्रमणमा आएका शिवराज पोख्रेलले बताए ।

वर्षाका कारण पहिरो र सडकमा बगेको लेदोले गर्दा बेनी–जोमसोम सडक खण्डको काभ्रेभिर, रुप्से छहरा लगायतका स्थानमा सडक अवरुद्ध हुँदा यात्रीहरु अलपत्र पर्ने गरेका छन् । उता जाँदा गाडीमा घोडेपानी नजिक पुगेकाहरु पmर्किने समयमा पानी परेर गाडी नचलेपछि पैदल नै बेनी आउन बाध्य भएका स्थानीय पर्यटन व्यवसायीहरुले बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले दशैँलगत्तै गाडीको चाप बढ्न थाले पनि आइतबारदेखिको वर्षाका कारण सञ्चालनमा आएकामध्ये ३० प्रतिशत जति सवारी साधन सञ्चालन हुन नसकेका जनाएको छ । जिल्लाका प्रायः सबै ग्रामीण क्षेत्रमा कच्ची सडक छन् । अलिकति वर्षा हुनासाथ पनि सडक चिप्लिने, पहिरो झर्ने, भेलको कटानले बाटोको स्वरूपै नरहने लगायतका कारणले गर्दा सर्वसाधारण र यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?