काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले गजेन्द्र हमाललाई मन्त्री बनाइएकोप्रति विरोध जनाएका छन् ।
शनिवार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ४ ले आयोजना गरेको बिजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले हमाललाई मन्त्री बनाइएको प्रति विरोध जनाएका हुन् ।
उनले हमाललाई मन्त्री बनाइएको विषयमा प्रधानन्यायाधीशसमेत जोडिएको उल्लेख गर्दै यसमा आफूलाई चित्त नबुझेको बताए । ‘सांसद नै नभएको मान्छेको सट्टा काठमाडौंको एकजना निर्वाचित भएकोलाई पठाइदिएको भए म पनि खुसी हुन्थेँ । ८४ दिनमा बल्लबल्ल मन्त्रिपरिषद् बनेको छ । कसैले नचिनेको मान्छेलाई किन मन्त्री बनाउनु पर्यो ? हाम्रा सभापतिले माथिको सभापतिसँग सोधेर हामीलाई पनि बताइदिनुपर्यो, मैले बुझ्न सकेको छैन’ ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्दै उनले देउवाको ‘मैले जे गरेपनि हुन्छ’ भन्ने प्रवृत्तिले पार्टी नचल्ने बताए ।
नेता केसीले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको पनि बताएका छन् । ‘हामी लोकतन्त्रमा विश्वास गर्छौँ, लोकतन्त्र भनेको वाद, विवाद, प्रतिवाद र संवादको प्रक्रिया हो’, केसीले भने, ‘कहिलेकाहिँ एउटै पार्टीभित्र पनि विचार र व्यक्तित्वको टकराव हुन्छ । त्यो कटरावबाट पनि सारांश निस्कन्छ, त्यो सारांश नै लोकतन्त्र हो ।’
उनले कांग्रेस सर्वसत्तावादी पार्टी नभएको स्पष्ट पार्दै विगतमा कांग्रेसले नै अग्रगमनको नेतृत्वको गरेको बताए । २४ सै घण्टा कांग्रेसलाई गाली गर्ने कम्युनिस्ट लगायत सबैको विचारको सम्मान कांग्रेसले गर्ने भन्दै लोकतन्त्रमा प्रतिस्पर्धा भने स्वाभाविक हुने उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया