काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
पटक पटक ३ बुँदे सहमति कार्यान्वयन गर्ने ध्यानाकर्षण भएपनि सरकारले कुनै ठोस कदम नचालेकाले विप्लवले असन्तुष्टि जनाएका हुन् ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग गत फागुन २१ गते ३ बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका थिए । तर सहमतिको ७ महिना बित्न लाग्दा पनि सहमति कार्यान्वयनमा कुनै प्रगति हुन नसकेको विप्लवको भनाइ छ ।
देउवा सरकार बनेको ३ महिना हुन लाग्दा पनि केही प्रगति नभएपछि विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन् । प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डमार्फत विप्लवले देउवालाई पठाएको ज्ञापनपत्रमा तीन बुँदे सहमति कार्यन्वयन गर्न जोडदार माग गरिएको छ ।
आफूहरुको माग पूरा नहुनु राष्ट्रिय राजनीति, नेपालको राजनीतिक आन्दोलन र नेपाली जनताको निम्ति धोका भएको विप्लवको भनाइ छ । वार्ता र तीन बुँदे सहमतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा पारेको सकारात्मक प्रभाव र जन अपेक्षा माथि तुसारापात भएको पनि विप्लवको ठहर छ । विप्लवले सहमति कार्यान्वयन नभए समस्याको समाधान नभइ झन जटिल स्थितिको सृजना हुनसक्ने चेतावनी दिँदै यस्तो व्यवहारले नेपाली जनतालाई निराश बनाउने जिकिर गरेका छन् ।
विप्लवले तीन बुँदे सहमति शुरुमै कार्यान्वयन गर्नुपर्ने विषय बन्दीको रिहाइ र मुद्धाको खारेजी भएको पनि ज्ञापनपत्रमा उल्लेख गरेका छन् । ‘यही विषय झन वढी ढिला भइराखेको छ । हाम्रो पार्टी तीन बुँदे सहमतिप्रति पूर्ण प्रतिवद्धता सहित अक्षरशः लागू गरिराखेको छ र गर्ने छ’, विप्लवले भनेका छन्, ‘आशंका, अविश्वास, मनोवैज्ञानिक दवाव र ढिलासुस्तीको कुनै गुन्जायस छैन । यो राष्ट्रिय राजनीतिक मुद्दा हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया