काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वको शुभकामना व्यक्त गरेकी छिन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गर्दै सुख, शान्ति र सुस्वास्थ्य एवं दीर्घायुको कामना समेत गरेकी छिन् ।
‘जितीया पर्व, २०७८ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका जितिया पर्व मनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन मधेशी तथा थारु महिलाहरूले सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ ।
नेपालको तराई क्षेत्रमा बसोवास गर्ने मधेशी तथा थारु समुदायका महिलाहरूले जितीयालाई आफ्नो सन्तानको सुख र समृद्धिका निमित्त मनाइने एउटा महत्त्वपूर्ण चाडका रूपमा लिइन्छ ।
भौगोलिक‚ सामाजिक र सांस्कृतिक विविधतायुक्त नेपालजस्तो मुलुकका लागि यस्ता पर्वहरुले आपसी प्रेम, विश्वास र सहयोगको भावना प्रगाढ बनाउने विश्वास लिएको राष्ट्रपति भण्डारीले बताएकी छिन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘भौगोलिक‚ सामाजिक र सांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।’
हाम्रो मौलिक सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता चाड पर्वहरू मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित कतिपय अव्यवहारिक पक्षहरूलाई समयानुकूल सुधार समेत गर्दै जानु पर्नेमा समेत राष्ट्रपति भण्डारीको जोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया