भीआईपीका घरमा मनलाग्दी सुरक्षाकर्मी

काठमाडौं, १ बैशाख- पूर्वप्रधानमन्त्री, गृहमन्त्री र भीआईपीले अझै घरमा मनपर्दी ढंगले दर्जनौ सुरक्षाकर्मी राखेका छन् । सरकारले बनाएको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत हुने गरी पूर्वभीआईपीले सशस्त्र प्रहरीका दर्जनौं सुरक्षाकर्मीलाई घरको सुरक्षामा राखेका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ ।राज्यकोषबाट तलब सुविधा लिएर मुलुकको सुरक्षामा तैनाथ हुनुपर्ने सयौ सुरक्षाकर्मी पहुच र शक्तिका आधारमा भीआईपीकहाँ बसिरहेका छन् । विगतमा सुरक्षा अवस्था गम्भीर हुँदा र सुरक्षा थ्रेट बढी हुँदा राखिएका सुरक्षाकर्मी अहिले सुरक्षा थ्रेट नहुँदा र राजनीतिक स्थिरतासहितको शान्ति कायम भइसक्दा पनि ठूलो संख्यामा भीआईपीकहाँ रहँदै आएका हुन् । कतिपयले सुरक्षाकर्मीलाई घरायसी काममा लगाउने गरेको गृह मन्त्रालय स्रोतको दाबी छ ।पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाहेक सबै पूर्वप्रधानमन्त्री, गृहमन्त्री र पूर्वपदाधिकारी तथा बहालवाला अधिकारीले पनि घरमा दर्जनौं सुरक्षाकर्मी राखेको गृह मन्त्रालयले जनाएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले हालै घरको सुरक्षामा रहेका सशस्त्र प्रहरीका सबै सुरक्षाकर्मी हटाएका छन् । यद्यपि, भट्टराईले सुरक्षाकर्र्मी फिर्ता गरेको औपचारिक जानकारी भने सशस्त्र मुख्यालयमा पुगेको छैन ।प्रहरीका पूर्व तथा बहालवाला उच्च अधिकारीले पनि आफ्नो आवासमा दर्जनौँ सुरक्षाकर्मी राखिरहेका छन् । प्रहरीका बहालवाला तथा पूर्वपदाधिकारीले आवासमा राखिएका सुरक्षाकर्मीलाई घरायसी काममा लगाउने गरेको गृहका अधिकारीको दाबी छ ।कतिपय पूर्वगृहमन्त्रीले बहालवाला अवस्थामा प्रयोग गरेको प्रहरी पछुवा टोलीसमेत फिर्ता गरेका छैनन् ।गृह मन्त्रालयका अनुसार सबैभन्दा धेरै सुरक्षाकर्मी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा खटिएका छन् । देउवाको घरको सुरक्षार्थ सशस्त्र प्रहरीका २९ जना सुरक्षाकर्मी परिचालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?