धनगढी । कैलालीको वसन्ता जैविक मार्गअन्तर्गत निर्माणाधीन हुलाकी सडकमा जैविक मार्गको टुङ्गो नलगाई निर्माणकार्य अघि बढाउन लागिएको छ ।
वन तथा वातावरण मन्त्रालयले वसन्ता अन्तर्राष्ट्रिय जैविक मार्ग भएकाले वन्यजन्तुको ओहोरदोहोरका लागि मार्ग निर्माण गर्नुपर्ने सर्त राखे पनि हुलाकी सडक डिभिजन कार्यालय धनगढीले भने अहिले निर्माणकार्य अघि बढाएको छ ।
‘मन्त्रालयले तयार पारेको सो सडकअन्तर्गतको वातावरणीय प्रभाव मूल्यांकन र विस्तृत अध्ययन प्रतिवेदनमा अन्डरपास र ओभरपास मार्ग बनाउनुपर्ने सर्त छ’, डिभिजन कार्यालयका सूचना अधिकारी पदम मडैले भने, ‘तर कहाँ बनाउने भन्ने अहिलेसम्म हामीले टुङ्गो लगाउन सकेको छैन । सोका लागि अहिले बजेट पनि आएको छैन ।’
जैविक मार्गको टुङ्गो नलगाए पनि कार्यालयले निर्माणकार्य भने अघि बढाएको छ । रुख कटान आदेश नपाउँदा पाँच वर्षअघिदेखि निर्माण कार्य अघि बढ्न नसकेको हुलाकी सडकअन्तर्गतको वसन्ता क्षेत्रभित्र पर्ने दुई किलोमिटरको ट्रयाक खोल्ने काम अघि बढाइएको छ ।

‘वसन्ता वनका रुख काट्न गत फागुनमा मन्त्रिपरिषद्को बैठकले आदेश दिएको थियो । कटान आदेशपछि वैशाख २३ बाट रुख काट्न सुरु भएको हो’, उनले भने, ‘रुख काटिसकेपछि एक लेयरसम्म माटो फिलिङ गर्ने कार्य भयो । बर्खा लागेपछि काम रोकिएको छ ।’
मन्त्रिपरिषद्को आदेशसँगै सो क्षेत्रमा रहेका चारवटा सामुदायिक वनभित्र पर्ने एक सय रुख काटिएको थियो । सो वनभित्र साल, हल्दु, अस्ना, कुसुम, क्यामुल, मौवा, वर र अन्य जातका गरी पाँच हजार ८१ क्युफिट रुखहरू कटान भएको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ ।
कैलालीको कैलारी गाउँपालिका–५ को कटैनी नदीदेखि छटकपुर वसन्तासम्म पर्ने दुई किलोमिटर खण्डमा रुख कटानको आदेश नहुँदा पाँच वर्षसम्म काम रोकिएको थियो । कैलारीको कटैनी नदीदेखि भजनी नगरपालिकाको लालबोझीसम्म वसन्ता वनक्षेत्रमा जम्मा १८ मध्ये १६ किलोमिटरमा राजमार्ग निर्माण भइसकेको छ । तर, कानुनी अड्चनका कारण दुई किलोमिटर खण्डमा भने काम रोकिएको थियो । जसले गर्दा उक्त सडक भएर जानुपर्दा घुमाउरो बाटो भएर जानुपर्ने बाध्यता थियो ।
सो खण्डमा राजमार्ग निर्माणका लागि ०७३ मै ठेक्का भए पनि काम अगाडि बढ्न सकेको थिएन । रुखकै कारण सो खण्डमा ट्रयाकसमेत खोल्न नसक्दा स्थानीय आक्रोशित भएका थिए । डिभिजन वन कार्यालय धनगढीले जैविक मार्ग बनाउन आयोजना कार्यालयले तत्परता देखाए मात्र निर्माणकार्य अघि बढ्न दिने अडान लिएको छ ।
‘जैविक मार्ग बनाउने भनेपछि हामीले रुख कटान गरेका हौ’ डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले भने, ‘वन्यजन्तु ओहोरदोहोर गर्ने मार्गको टुङ्गो नलगाई सडक निर्माण गर्न दिँदैनौँ ।’ उनले मन्त्रालय र हुलाकी सडक डिभिजन कार्यालयसँग पटक–पटक जैविक मार्गका विषयमा छलफल भइरहेको बताए ।
हुलाकी सडकअन्र्तगत सत्तीदेखि धनगढीसम्मको ६२ किलोमिटर सडकमध्ये ४४ किलोमिटर क्षेत्रमा पाँच वर्षअघि नै सडक निर्माणको भइसकेको छ ।
एकै ठाउँमा दुई नाली
हुलाकी सडकअन्र्तगत कैलालीको धनगढीमा निर्माण गरिएको नाली छेउमै पुनः नयाँ नाली निर्माण गर्न लागिएको छ ।
सो सडकमा नाली बनाएको तीन महिनामै सो नाली प्रयोगमा नल्याई मापदण्ड घटाएर छेउमै पुनः अर्को नाली बनाउन लागिएको हो । हुलाकी सडकको सुरुवाती बिन्दु धनगढीको क्याम्पसचोकदेखि सडकको दुवैतिर पक्की नाली निर्माण गर्ने गरी सडक निर्माणको काम अघि बढाइएको थियो ।

सोहीअनुसार क्याम्पसचोकदेखि मनहेरासम्म पाँच सय मिटर लामो पक्की नाली निर्माण गरियो । अहिले उक्त नालीलाई नै रद्द गरेर पुनः अर्को नाली निर्माण गर्न लागिएको हो ।
निर्माण सम्पन्न भएको नाली प्रयोगमा नआउँदै अर्को नाली निर्माण सुरु गरिएपछि नाली निर्माणको लागत दोब्बरले बढेको छ । पुरानो नाली ६० सेन्टिमिटर चौडाइ थियो भने नयाँ नाली एक मिटर दुई सेन्टिमिटरको रहेको हुलाकी सडक आयोजना कार्यालय धनगढीका सूचना अधिकारी पदम मडैले बताए ।
पहिले सडक दुई लेनको थियो । पछि सडक चार लेनको बन्ने भएपछि पूरानो नालीको औचित्य नभएकोले नयाँ नाली बनाउनु परेको हुलाकी सडक आयोजना कार्यालयका सूचना अधिकारी मडैले बताए । उनले पुरानो नाली भत्काएर साढे तीन मिटर चौडाइको फुटपाथ बनाउन सकिने बताए ।
आयोजना कार्यालयले नयाँ निर्माण गर्न लागेको नाली भने नागबेली आकारको छ । सरोज आयल स्टोरदेखि सेतोपुलतर्फ निर्माण भएको नाली पूरै नागबेली आकारमा निर्माण गरिएको हो । क्याम्पस चोकमा व्यवसाय गर्दै आएका बसन्तकुमार ठाकुरले सरोज आयल स्टोरभन्दा पूर्वका स्थानीयले मुआब्जा पाएका छन भने पश्चिमका कसैले नपाएका कारण मनलाग्दी नाली निर्माण गरिएको बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बरालले भने, ‘शून्य प्वाइन्टदेखि क्याम्पसचोकसम्मका मानिसले जग्गा उपलब्ध नगराएपछि सडकको चौडाइ घटाएर निर्माण गरिएको हो ।’
क्याम्पसचोकदेखि पूर्व तीन किलोमिटरसम्म १५ मिटर चौडाइको चार लेन सडक निर्माण गर्न लागेकाले नाली पनि सोहीअनुसार निर्माण गर्न लागेको आयोजना कार्यालयको भनाइ छ । हुलाकी आयोजना कार्यालयका अनुसार चार लेन सडकमा २० प्रतिशत भौतिक प्रगति भएको छ ।
कैलालीमा आर्थिक बर्ष २०६६/६७ र कञ्चनपुरमा आर्थिक वर्ष २०७२/७३ मा निर्माण सुरु गरिएको हुलाकी सडक आयोजनाको निर्माण सुस्त गतिमा छ । हुलाकी सडकअन्तर्गत धनगढी क्याम्पसचोकदेखि पूर्व तीन किलोमिटरसम्म १५ मिटर चौडाइको चार लेन सडक निर्माणका लागि पटक–पटक निर्माण सम्झौताको म्याद थप्दा पनि निर्माणले भने अझै पूर्णता पाउन सकेको छैन ।
क्याम्पसचोक–भन्साररोड साढे ६ किलोमिटर सडक दुई वर्षभित्र सक्ने गरी २०७४ चैतमा रमण–केएस जेभीसँग सम्झौता भएको थियो । दोस्रो पटक थपिएको समय गत माघमा सकिएर पुनः ६ महिना म्याद थपिएको थियो । तेस्रो पटक थपिएको म्याद असारमा सकिए पनि निर्माणले अझै पूर्णता पाउन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया