काठमाडौँ, २२ चैत – पुराना वामपन्थी नेता एवम् पूर्वसांसद कमलराज रेग्मीको ९२ वर्षका उमेरमा ललितपुरको धोबीघाटस्थित निवासमा आज निधन भएको छ ।विसं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित चार नेतामध्ये रेग्मी पाल्पाबाट निर्वाचित हुनुभएको थियो । अन्य विजयी नेतामा तुल्सीलाल अमात्य(ललितपुर) तथा शेख फरमान र हरदयाल महतो(रौतहट) हुनुहुन्थ्यो ।रेग्मी पञ्चायती व्यवस्थाको स्थापना हुनुभन्दा पहिले कम्युनिष्ट पार्टीको जुझारु र सक्रिय नेता हुनुहुन्थ्यो । नेपालको किसान आन्दोलनमा उहाँको महत्वपूर्ण भूमिका थियो । खास गरेर पाल्पाको किसान आन्दोलन उहाँको नेतृत्वमा नै चलेको थियो ।विसं २०१७ पुस १ गते तत्कालीन राजाले प्रतिगामी कदम चाल्दा उहाँ पहिलो दिनमा नै गिरफ्तार हुनुभएको थियो र लामो समयसम्म कारागार जीवन भोग्नुप¥यो । उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न वामपन्थी नेताहरु विष्णुबहादुर मानन्धर, चित्रबहादुर केसी, मोहनविक्रम सिंहलगायत धोबीघाट पुग्नुभएको थियो । उहाँका श्रीमती तथा एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँको अन्त्येष्टि चितवन देवघाटमा शुक्रबार गरिने नेकपा(माओवादी केन्द्र) सचिवालय सदस्य सुनिलकुमार मानन्धरले जानकारी दिनुभयो ।उहाँको निधनप्रति नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले दुःख व्यक्त गर्दै सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । “स्व रेग्मीको पहिलेको सक्रिय पार्टी जीवन र उहाँका सबै सुःखदुःखमा जीवनभर साथ दिएकी उहाँकी जीवनसाथी विमला रेग्मीप्रति पनि उच्च सम्मान प्रकट गर्दै उहाँप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया