काठमाडौं । नेपाली समाजमा पछिल्लो समय आत्महत्याका घटनाहरू बढ्दै गएका छन् । दिनहुँजसो आत्महत्याका समाचारहरू आइरहेका कारण मानिसहरूको मनस्थिति नै खल्बलिएको छ ।
त्यसो त नेपालमा मात्रै नभएर विश्वभरि नै आत्महत्याका घटना बढिरहेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा प्रत्येक वर्ष करिब ८ लाख मानिसले आत्महत्या गरेका हुन्छन् ।
नेपालमा आत्महत्या गर्नेहरूमध्ये अधिकांशले झुण्डिएर आत्महत्या गर्नेगरेका छन् । विष सेवन गरेर, आफूले आफैँलाई गोली हानेर, आगो लगाएर, हामफालेर, करेन्ट लगाएर, हातहतियारको प्रयोग गरेर पनि मानिसहरूले आत्महत्या गर्नेगरेको प्रहरीको तथ्यांक छ ।
कतिपय अवस्थामा आत्महत्यालाई हत्या भएको भनेर समेत मुद्दा परेका घटनाहरू छन् । यस्ता किसिमका घटनाहरुले सामाजिक सम्बन्धमा दखल पुर्याइरहेका छन् । प्रहरीको तथ्यांक हेर्दा प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गइरहेको छ । अहिले पनि दुर्गम ग्रामीण क्षेत्रमा हुने आत्महत्याका घटनाहरू वा सहरमै पनि सम्पन्न घरानामा हुने आत्महत्याका घटनाहरू प्रहरीको अभिलेखसम्म आउँदैन ।
प्रहरीलाई जानकारी गराए पोष्टमार्टमलगायतका कानुनी प्रक्रियाहरू पूरा गर्नुपर्ने झन्झटिलो र खर्चिलो लफडामा लाग्नुभन्दा स्वाभाविक मृत्यु भन्दै अन्तिम संस्कार गर्ने चलनले कतिपय ग्रामीण क्षेत्रका घटनाहरू अभिलेखमा आउँदैनन् । यदि सबै घटनाको अभिलेखीकरण हुने हो भने यो संख्या अझ बढी हुनसक्ने प्रहरी स्रोत बताउँछ ।
आत्महत्याको कारण
आत्महत्याको अर्थ स्वयंलाई मार्नु भन्ने हो । प्रत्येक आत्महत्या व्यक्तिगत समस्याका कारण हुने गर्दछ । व्यक्तिले विभिन्न आकांक्षाहरू पालेको हुन्छ र ती तत्काल पूरा होउन् भन्ने चाहन्छ । तर ती चाहनाहरू पूूरा नभएपछि मानिस बिस्तारै आत्महत्याको बाटोतिर लाग्छ र आत्महत्या गर्न पुग्छन् ।
विभिन्न अध्ययनले तुलनात्मक रूपमा १५ देखि २४ वर्ष उमेरसमूहका व्यक्तिहरूले बढी मात्रामा आत्महत्या गर्नेगरेको देखाएको छ । आत्महत्याको कारण सबै व्यक्तिमा एकनास नभए पनि उदासीनता, रक्सी र अन्य लागुऔषधिको दुरूपयोग, दीर्घरोगी, मानसिक स्वास्थ्य समस्या, झगडा, घरेलु हिंसा, आफन्तको मृत्यु , गरिबी, बेरोजगारी, मायामा धोका, पढाइमा असफलजस्ता कारणले व्यक्ति आत्महत्याको तहमा पुग्ने गरेको अनुसन्धानले देखाएको छ ।
तर समग्रतामा अध्ययन गर्दै जाँदा कुनै व्यक्ति आत्महत्याको तहमा पुग्नुको मूल कारण समाज हो । हरेक व्यक्तिको इच्छा, चाहना र आवश्यकता फरक–फरक हुन्छन् । उसले ती इच्छा, चाहना आवश्यकताहरूलाई परिपूर्ति गर्न खोज्छ । तर सबै कुरामा उसलाई समाजले उसलाई छुट दिँदैन । यस्तो अवस्थामा आवेशमा गरिएको निर्णयले व्यक्ति अप्राकृतिक मृत्युवरण गर्छ । त्यसैले व्यक्तिलाई आत्महत्याको तहसम्म पु-याउन समाजले नै भूमिका खेलेको हुन्छ भन्ने कुरा पनि विभिन्न घटनाहरुको अध्ययनले देखाएको छ ।
उदाहरणका लागि पछिल्लो समयका आत्महत्याका घटनाहरूलाई लिन सकिन्छ । युवायुवतीबीच प्रेम सम्बन्ध भयो, उनीहरू बिहे गर्न चाहन्छन् तर समाजले जातको नाममा, धर्मको नाममा, वर्गको नाममा वा यस्तै कुनै बहानामा बिहे गर्न अनुमति दिइँदैन । सँगै मर्ने, सँगै जिउने बाचाका साथ प्रेम गरेका युगल जोडी छुटिनुपर्दा युवा वा युवती अथवा दुवै आत्महत्याको तहमा पुग्छन् ।
त्यस्तै परीक्षामा असफल हुँदा धिक्कार्ने हाम्रो समाज बेरोजगार हुँदा निकम्माको उपमा दिन्छ । यी र यस्ता कतिपय सामाजिक कुराहरू छन् जसले गर्दा व्यक्ति आत्महत्याको सिकार हुन्छ । त्यसकारण आत्महत्याको मुख्य कारण समाज नै हो भन्दा फरक नपर्ला ।
यस्तै बच्चाहरूको बढ्दो महत्वकांक्षा र आफ्नो आयस्रोतको तालमेल मिलाउन नसकेर पनि आत्महत्या गर्नेगरेको पाइएको छ भने अर्कोतर्फ अभिभावकहरूले छोडेर हिँडेपछिको एक्लोपन र गलत सङ्गतले कुलतमा फस्ने गरेको पनि देखिन्छ ।
अभिभावकहरूको अनुपस्थितिमा जीवनलाई नबुझ्दै गर्ने लिभिङ टुगेदर, रिलेसनसिपमा धोका, अविश्वास र अपरिपक्व अवस्थामा रहेको अवैध गर्भधारणले युवायुवतीलाई आत्महत्या गर्न बाध्य बनाएको भेटिन्छन् । वृद्धवृद्धाले आफ्नै सन्तानबाट सहनुपरेको अपहेलना र मानसिक तनाव आर्थिक अभाव र विभिन्न किसिमका रोगहरूका पीडाका कारण समेत आत्महत्या गर्नेगरेको पाइएको छ ।
समाजशास्त्री इमाइल दुर्खिमले सामाजिक सांस्कृतिक, धार्मिक मान्यताले समाजलाई बाँधेर राखेको हुन्छ भनी भनेका छन् । उनका अनुसार धर्म भनेको एउटा यस्तो संयन्त्र हो, जसले व्यक्तिहरूमाथि नियन्त्रण गर्दछ । दुर्खिमले आफ्नो पुस्तक ‘सुसाइड’मा समाजमा हुने आत्महत्याका घटनाहरू व्यक्तिगत नभई सामाजिक कारणबाट हुने बताएका छन् ।
आत्महत्या विश्वभरिमा जनस्वास्थ्यको सवाल बनेको छ । यसले समाज, देश र विश्वलाई नै प्रभावित बनाएको छ । आत्महत्याका सिकार बढी मात्रामा युवाहरू हुनेगरेको अध्ययनले देखाएको छ । १९ देखि २९ वर्ष उमेरसमूहका मानिसहरूको दोस्रो ठूलो मृत्युको कारण आत्महत्या बनेको छ । आर्थिक अवस्था कमजोर र मध्यम आर्थिक अवस्था भएका मुलुकहरूमा यो समस्या बढी देखिए पनि विश्वभरि नै समस्याका रूपमा रहेको छ ।
पछिल्लो अवस्थामा नेपाली समाजमा आत्महत्यामा कारणहरू हेर्दा सामाजिक सञ्जाल र सञ्चार उपकरणहरूको दुरूपयोग अर्को महत्वपूर्ण कारण भएको छ । सञ्चार उपकरणबाट एक–आपसमा जोडिँदै जाँदा प्रेम सम्बन्धसम्म पुग्नेपछि परिवारका कारण छुट्टिने अवस्था आउने वा धोका पाउने, बालविवाह , बहुविवाह बढी हुने, ढाँटेर अर्को विवाह गर्नेजस्ता घटनाहरू हुँदै जाने र अन्त्यमा आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ । यस्ता घटनामा पनि कारण भने समाज नै हुनेगरेको छ ।
मानिसहरू आत्महत्या किन गर्छन् ? यसको कुनै समाधान छ कि ? मनोविद् बासु आचार्यसँग लोकपथ टिभीले गरेको कुराकानी समेटिएको यो भिडियो हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया