काठमाडाैं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको कार्यदलको बैठकले सो कार्यविधिको अन्तिम खाका तयार पारेको हो ।
कार्यविधि सत्ता साझेदार दलका शीर्ष नेतालाई छिट्टै बुझाइने छ । ‘चाँडै नै प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौं,’ कार्यदलका सदस्य सचिव केशवराज जोशीले भने ।
कार्यविधिलाई अन्तिम रूप दिन कार्यदलको बिहीवार बिहानैदेखि बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित कांग्रेसका डा. मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रका देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी थिए ।
कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, संघीयताको कार्यान्वयनलगायत विषय समेटेर साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । सत्तारुढ शीर्ष नेतृत्वले छलफल गरी सो प्रतिवेदन सार्वजनिक गर्ने सदस्य सचिव जोशीले जानकारी दिए ।
न्यूनतम साझा कार्यक्रमको टुंगो लगाएपछि केही दिनभित्र सरकारले पूर्णता पाउने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया