भूकम्पपीडितले दोस्रो किस्ता लिने म्याद असार मसान्तसम्म

काठमाडौं, २१ चैत- बर्खाअघि नै भूकम्पपीडितलाई ओतको व्यवस्था गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले भूकम्पपीडितलाई राहतका लागि दायाँबायाँ नगरी यो बर्खाअगावै ओतको आवश्यक व्यवस्था गर्न प्राधिकरणलाई निर्देशन दिएका हुन् । उनले सबै भूकम्पपीडितलाई ओत लाग्ने व्यवस्थाका लागि आवश्यक परे कार्यविधिसमेत सहज बनाइ अघि बढ्न निर्देशन दिए ।भूकम्पपीडितका निजी आवास निर्माणका लागि राज्यले उपलब्ध गराएको अनुदान लिने समय तीन महिना थप गर्ने निर्णयसमेत भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्राधिकरणको निर्देशक समितिको १२औं बैठकले भूकम्पपीडित लाभग्राहीले निजी आवास अनुदानको दोस्रो किस्ताबापतको रकम लिने समयसीमालाई तीन महिना बढाएर २०७५ असार मसान्तसम्म कायम गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताए ।यसअघि दोस्रो किस्ताबापतको रकम २०७४ चैत मसान्तभित्र बुझिसक्नुपर्ने प्रावधान थियो । प्राधिकरणको निर्देशक समितिका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पुनर्निर्माणका प्राथमिकता निर्धारण गर्दै निजी आवास पुनर्निर्माणलाई जोड दिनुपर्ने आवश्यकता औंल्याए, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?