कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल

कपिलवस्तु, १८ चैत । खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिएका छन् ।प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका जिल्ला शाखाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति र भूउपयोग नीति आवश्यक रहेको बताए ।अब सबै खेतीयोग्य जमिनमा चक्लाबन्दीको कार्य अगाडि नबढाइए कृषि उत्पादनमा वृद्धि आउन नसक्ने उनको भनाइ थियो । खेतीयोग्य जमिनको प्लटिङका नाममा बढ्दो खण्डीकरण रोक्न भूमि नीति र ती भूमिको अधिकतम उपयोग गर्न भूउपयोग नीति आवश्यक रहेको उनको तर्क थियो । भूमिसम्बन्धी पुराना कानून संशोधन वा नयाँ कानून ल्याएर कार्यान्वयन गर्नुपर्नेमा मन्त्री खनालले जोड दिए ।अब जमिन बाँझो राख्नेउपर निगरानी गरी बाँझो जमिनलाई स्थानीय तहको अधिनमा लिई त्यस्ता जमिनलाई कृषि उपयोगमा कसरी ल्याउनेबारे छलफल भइरहेको उनले बताए ।प्रधानमन्त्री कृषि कार्यक्रमअन्तर्गत एक हजार हेक्टर जग्गा एकिकरण गरेर व्यावसायिक खेती गर्ने र थुप्रै बिगाहा खेत बाँझो राख्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीय सरकारले नियन्त्रणमा लिएर खेती गर्ने अवस्था सिर्जना गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?