काठमाडौं । सिराहाको ठाडी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । पटकपटकको निषेधाज्ञा र सीमा बन्द भए पनि भन्सार कार्यालयले आव २०७७/७८ मा लक्ष्यभन्दा दुई करोड ८९ लाख ९२ हजार बढी राजस्व सङ्कलन गरेको हो ।
छ करोड ५६ लाख २० हजार सङ्कलनको लक्ष्य रहेकामारु नौ करोड ४६ लाख १२ हजार राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिएका छन् । उनकाअनुसार कोरोना सङ्क्रमण फैलिन नदिन गरिएको निषेधाज्ञाका कारण जेठ र असारमा लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न नसके पनि अरु महिनामा बढी राजस्व सङ्कलन भएको छ ।
सिराहाको लाहान-ठाडी सडकखण्डअन्तर्गत भगवानपुर गाउँपालिका-२ नरहामा सडक निर्माण कार्य भइरहेकाले सवारी साधन आवतजावत सहज नहुँदासमेत लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको प्रमुख साहले बताएका छन् । कार्यालयले धान, गहुँ, फलफूल, तरकारी र टायल्सबाट बढी राजस्व उठाएको प्रमुख साहले जानकारी दिएका छन्।
यस्तै यातायात व्यवस्था कार्यालय लहानले आव २०७७/०७८ मा ४३ करोड ७८ लाख १५८ राजस्व सङ्कलन गरेको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण, जाँचपास, बाटो इजाजतपत्र, प्रदूषण, कम्पनी रजिष्ट्रेसनलगायत शीर्षकबाट सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख मीन भट्टराईले जानकारी दिएका छन् ।
सङ्कलन भएको राजस्वमध्ये एक करोड ७० लाख ३३ हजार ५७४ सङ्घीय सरकारको खातामा र ४२ करोड आठ लाख ३९ हजार ५८४ प्रदेश सरकारको खातामा जमा गरिएको कार्यालय प्रमुख भट्टराईले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया