काठमाडौं । धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गत कसुरमा संलग्न रही फरार रहेका ४ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एसएसपी अनुप शमशेर जबराका अनुसार पक्राउ पर्नेहरुमा तीन संस्थाका ४ जना रहेका छन् ।
उनका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ का ४२ वर्षीय सुभाष पौडेल रहेका छन् । धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा पक्राउ परेका पौडेल हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी सदस्य हुन् ।
त्यस्तै अर्का पक्राउ परेकी व्यक्ति हुन् साविक ललितपुर उपमहानगरपालिका–२ की सुनिता महर्जन । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ परेकी महर्जन क्रेष्ट माईक्रो लाईभ इन्स्योरेन्स लिमिटेडकी सञ्चालक सदस्य हुन् ।
पक्राउ परेका अन्य दुई जना भने नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्यहरु हुन् । जसमा नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको सञ्चालक सदस्यद्वय ४५ वर्षीय अनुप मालाकार र ३९ वर्षीया सुनिता श्रेष्ठ रहेका छन् ।
उनीहरु दुवैलाई बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा पक्राउ गरिएको हो । सोमबार पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता जबराले बताए ।
सोही कसुरमा यसअघि पक्राउ परेका विचौलिया दिपक भट्टसँग उनीहरुको कारोबार देखिएको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया