शेरबहादुर ऐर । धनगढी-
नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा सभापतिको पदका आकाँक्षीहरुको दौडधुप बढेकोे छ । सभापतिको आकांक्षी सबै जिल्लामा बढी भएपछि आ–आफनो पक्षमा लविङ गराउन केन्द्रदेखि जिल्लासम्म भेटघाट, छलफल, अन्तरक्रिया लगायतका गतिविधी अघि बढाइरहेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश हो यो । प्रदेशका ९ वटा जिल्ला रहेका छन । देउवाको पकड प्रदेशका रुपमा रहेको यस प्रदेशको दार्चुलामा कमजोर रहेका छन भने अन्य जिल्लामा देउवा पक्षका उम्मेदवार र क्रियाशिल सदस्य बढी रहेका छन् ।
प्रदेशका ९ वटै जिल्लामध्ये दार्चुलामा मात्र रामचन्द्र पौडेल पक्षका व्यक्तिहरु जिल्ला सभापतिका आकाक्षी बढी रहेका छन भने अन्य जिल्लामा देउवाकै पक्षका बढी व्यक्तिहरु जिल्ला सभापति पदका आकांक्षी रहेका छन् ।
पार्टी सभापति देउवाको गृह जिल्लाका वर्तमान सभापति हुन कर्ण मल्ल । कुनै बेला देउवा निकट मानिएका उनले अहिले देउवाका विरुद्ध नै आफनो उम्मेदवार उठाउने तयारी गरेका छन् । पार्टी सभापति देउवाबाटै अहिले प्रशुराम नगरपालिकाका नगर प्रमुख बनेका भीमबहादुर साउद जिल्ला सभापतिको बलियो उम्मेदवार बनेका छन् । डडेल्धुरामा साउदसहित ९ जना सभापतिका दावेदार रहेका छन् । अहिले अधिकांस व्यक्तिहरु पार्टी सभापति आफु हुनुपर्ने भन्दै केन्द्रिय कार्यालय धाइरहेको जनाइएको छ ।
डडेल्धुरामा जिल्ला सभापति मल्लका निकट रहेका करुणाकर भट्ट, तारक बुढाऐर, भरत नेपाली, देउवा निकट नवलबहादुर मल्लसंगै मोहनराज पाठक र हरिप्रसाद भट्ट पनि सभापतिका आकाँक्षी छन् । सबै अहिले पार्टी सभापतिको दौडधुपमा रहेको जनाइएको छ । “अहिले पार्टी जिल्ला सभापतिका आकांक्षी रहेका दाबेदारहरु काठमाडौं केन्द्रित भएका छन,” पार्टी कार्यकर्ता केशब महताले बताए । डडेल्धुरामा देउवा पक्षकै अहिले तीन खेमा देखिन लागेको जनाइएको छ ।
२०७० को निर्वाचनमा विजयी भएको कैलाली जिल्लामा पनि अहिले देउवा निकटकै व्यक्तिहरु जिल्ला सभापतिको दौडमा रहेका छन । कैलालीमा देउवा र पौडेल पक्षबिच प्रतिष्पर्धा हुँदै आएको छ ।
अहिले जिल्ला सभापतिका लागि हाल पार्टीका उपसभापति समेत रहेका प्रकाश बम लगायत देउवा निकटका नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह र रणबहादुर रावल आकांक्षी देखिएका छन् भने रामचन्द्र पौडेल समूहबाट दिनेशराज जोशी र गणेश देउवा आकांक्षी रहेका छन् ।
पौडेल पक्षका जोशी र देउवाको बलियो दाबी रहेको छ भने देउवा पक्षका बम र बडुवालको दाबी बलियो रहेको जनाइएको छ । “अहिले जिल्ला सभापतिका आकांक्षी धेरै देखिएका छन । हामी आकांक्षी घटाउंदै सबैलाई मिलाएर अघि बढ्ने तयारीमा रहेका छौं,” कैलाली पार्टी सभापति नरनारायण शाह (मनु)ले बताए ।
कञ्चनपुरमा पनि देउवा निकटका व्यक्तिहरुको सभापतिमा आकांक्षी बढीरहेका छन । वर्तमान सभापति हरि बोहराले दोस्रो कार्यकाल जिल्ला सभापति हुने आकांक्षा राखेका छन् । गत अधिवेशनमा बोहोरासंग पराजित पदम बोगटी, बहादुरसिंह थापासंगै गोपाल गुरुङ आकाक्षीं रहेको जनाइएको छ । गुरुङ पौडेल पक्षधर हुन् ।

डोटीमा पनि वर्तमान सभापति प्रदिप देउवा आफै दोहोरिने पक्षमा रहेको छ । पौडेल पक्षको खासै पकड नभएको डोटीमा देउवा निकट मानिएका सीताराम जोशी, रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडू सभापति दौडमा लागेका जनाइएको छ ।
अछाममा देउवा पक्षका वर्तमान सभापति भरतकुमार स्वांरसहित सात जना आकाक्षीं रहेका छन । देउवा पक्षका चार र पौडेल पक्षबाट तीन जना जिल्ला सभापतिको आकाक्षीं रहेको जनाइएको छ । अछाममा स्वांरसहित पूर्वसभापति पुष्पबहादुर शाह, मेघराज खड्का र नेता गणेशबहादुर विष्ट आकांक्षी देखिएका छन् ।
यस्तै, पौडेल पक्षबाट बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनाल रहेका छन् ।
दुर्गम मानिएको बाजुरा जिल्लामा देउवा पक्षका दुई र पौडेल पक्षका दुई गरि चार जना सभापतिका आकाक्षीं देखिएका छन । बाजुरामा सभापतिका लागि देउवा पक्षबाट वर्तमान सभापति कविराज पण्डित र प्रेमबहादुर शाही आकांक्षी छन् भने पौडेल पक्षबाट पूर्वसभापति मनबहादुर रावल र रामसिंह रावल आकाक्षीं रहेका छन् ।
बैतडीमा पनि अहिले चार जना सभापतिका लागि आकांक्षी देखिएका छन् । बैतडीमा पौडेल पक्षका वर्तमान सभापति नरेन्द्रसिंह थापा दोहोरिने पक्षमा रहेका छन भने पौडेल पक्षकै उपसभापति चतुरबहादुर चन्द आकाक्षी देखिएका छन भने देउवा पक्षका शिवराज भट्ट र वीरबहादुर विष्ट आकाक्षीं देखिएका छन् ।
पौडेल पक्षीय केन्द्रीय सदस्य दिलेन्द्र बडूको गृह जिल्ला मानिएको दार्चुलामा सभापतिका आकाक्षी पाँच जना देखिएका छन् । प्रदेशमा देउवाको कमजोर मानिएको जिल्लामा पौडले पक्षका विक्रम धामी, पूर्वसभापति जगदीश पाल, उपसभापति अमर धामी, सचिव हर्क विष्टलगायतका नेता सभापतिका आकाक्षीं छन् भने देउवा पक्षबाट विक्रम धामी र जगदीश पाल रहेका छन् । बझाङमा वर्तमान सभापति हर्कजंग बहादुर सिंहसहित अहिले १० जना सभापतिका आकाक्षीं रहेका छन् ।
बझाङमा पूर्वसभापति पृथ्वीबहादुर सिंह, पूर्वसभापति चेतराज बजाल, पूर्वउसभापति देवराज शर्मा र जगत जोशीको नामभावी सभापतिका लागि चर्चामा छ ।
यस्तै गत जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी खडगबहादुर बोहरा र रमेश भण्डारी पनि सभापतिका बलिया दाबेदार हुन् । पौडेल पक्षबाट पूर्वसभापति सत्यराज भण्डारी र पूर्वसांसद चन्दा जोशीको नाम चर्चामा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया