भोटेकोशी र त्रिशूलीमा उच्च सतर्कता अपनाउन आग्रह, आज कहाँ-कहाँ छ बाढीको जोखिम ?

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ठाउँमा बग्ने साना नदीमा आकस्मिक बाढी आउन सक्ने जनाएको छ ।

शनिबार बिहान जारी गरिएको बुलेटिनअनुसार पहाडी र हिमाली क्षेत्रमा पर्ने साना नदीमा पानीको बहाव बढ्ने सम्भावना छ ।

महाशाखाले पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको अछामसम्मका विभिन्न जिल्लामा बाढीको चेतावनी दिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरसहित सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिङ, चितवन, कास्की, म्याग्दी र बागलुङमा साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

त्यस्तै तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, काभ्रेपलाञ्चोक, मकवानपुर, नवलपरासी पूर्व–पश्चिम, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, रोल्पा, रुकुम पश्चिम, जुम्ला, जाजरकोट र दैलेखका साना नदीमा पनि पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ ।

ठूला नदीमा भने अहिले तत्काल खतरा देखिएको छैन । शनिबार बिहान ८ बजेको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्तीलगायत नदीको बहाव सतर्कता तहभन्दा तल छ ।

तर, आगामी तीन दिनमा प्रमुख तथा सहायक नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण सो क्षेत्रमा अझै जोखिम कायमै छ । अहिले भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बेत्रावतीस्थित त्रिशूली नदीमा पनि आगामी तीन दिन पानीको बहाव बढ्ने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार भोलि पनि सातै प्रदेशका केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहनेछ । नदी आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?