चितवन, १३ चैत – सुख्खा मौसमसँगै दैनिकजसो आगलागी हुने गरे पनि जिल्लाका स्थानीय तहमा आगो निभाउनका लागि दमकल अभाव भएको छ ।भरतपुर महानगरपालिकामा रहेका २० वर्ष पुराना दुई दमकल बिग्रिएका छन् । महानगरपालिका दमकल शाखाका प्रमुख देवेन्द्र रेग्मीका अनुसार एउटा दमकल छ महिनादेखि थन्किएको छ भने अर्को आइतबार साँझदेखि बिग्रिएको हो । छ महिनाअघि थन्किएको जर्मन मर्सिडिजको पाँच हजार लिटर क्षमताको दमकलको क्लज सिलिण्डरमा समस्या देखिएको छ जसको पार्टपुर्जा पाउन कठिन भएको उनले बताए ।अर्को चार हजार क्षमताको भारतीय टाटा कम्पनीको २१ वर्ष पुरानो दमकल चल्ने र बिग्रने भइरहेको छ । शनिबार साँझ बिग्रिएको दमकल आज बन्ने सम्भावना रहेको रेग्मीले बताए । उनका अनुसार राप्तिवारीको पूरै चितवन र गैँंडाकोट क्षेत्र सोही दमकलले धान्नुपर्छ ।माडी नगरपालिकामा एउटा दमकल छ । राप्तिवारीको एक महानगरपालिका, चार नगरपालिका र एउटा गाउँपालिकालाई एउटै पुरानो दमकलको साहाराले आगो निभाउनुपर्ने बाध्यता छ । महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले भारत सरकारले चार दमकल दिने आश्वासनपछि त्यसकै पर्खाइमा रहेको बताए । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले पूर्वी चितवनका चार नगरपालिकाका लागि दुई दमकल मन्त्रालयसँग माग गरिए पनि आइनसकेको बताए ।गर्मी मौसमसँगै आगलागीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि तयारी कमजोर देखिएको जिल्लावासीको गुनासो छ । सुख्खा मौसममा दैनिक दुईतीन ठाउँमा सानाठूला आगलागीका घटना हुने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया