प्रधानमन्त्री–प्रचण्ड भेटवार्ता, के भयो छलफल ?

काठमाडौँ, १३ चैत- प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकतामा केन्द्रित रहेर सोमबार छलफल भएको छ । उनीहरूबीच शनिबार र आइतबार पनि पार्टी एकता र प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणअगावै एकता टुंग्याउँदा सकारात्मक सन्देश जाने भन्दै त्यसअनुसार कार्यदललाई प्रतिवेदनको तयारी गर्न निर्देशन दिइसकेका छन्, नयाँ पत्रिकामा खबर छ  ।ओलीको प्रस्तावपछि राजनीतिक प्रतिवेदन तयारी र संगठन तथा विधानसम्बन्धी कार्यदलले तयारी तीव्र पारिरहेका वेला दुई अध्यक्षबीच छलफल भएको हो । केही दिनयता दुई नेताबीच लगातार एकताकेन्द्रित छलफल हुँदै आएको छ ।राजनीतिक कार्यदलका संयोजक माधवकुमार नेपाल तथा संगठनसम्बन्धी कार्यदलका संयोजक रामबहादुर थापा पनि निरन्तर ओली र प्रचण्डसँग छलफलमा छन् । ‘आवश्यकताअनुसार नेताहरूबीच निरन्तर छलफल चलिरहेको छ, पार्टी एकता छिटो टुंग्याउने भनेपछि एक–दुईपटकको भेट नयाँ होइन,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?