१ लाख ७ हजार कर्मचारी चाहिने, तयार भयो दरबन्दी

काठमाडौं, १२ चैत- सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी कुल १ लाख ७ हजार ६ सय ६५ कर्मचारी आवश्यक पर्ने निष्कर्षसहित दरबन्दी तयार पारेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अन्य मन्त्रालयका अधिकारी सम्मिलित टोलीले तीनै तहको कार्य सञ्चालन प्रभावकारी बनाउन तत्काल १ लाख ७ हजार ६ सय ६५ कर्मचारी आवश्यक भन्दै दरबन्दीको प्रारूप तयार पारेको हो ।सरकारले पछिल्लो पटक तयार पारेको कर्मचारीको नयाँ दरबन्दीअनुसार अब केन्द्र सरकार र त्यसअन्तर्गतका कार्यालयमा गरी ३६ हजार ८ सय ४५ कर्मचारी रहनेछन् भने प्रदेश सरकार र त्यसअन्तर्गतका कार्यालयमा १६ हजार ४ सय २८ कर्मचारी रहनेछन् । सबैभन्दा बढी कर्मचारी भने स्थानीय तहमा रहनेछन् । स्थानीय तहमा ५४ हजार ३ सय ९२ कर्मचारी आवश्यक पर्ने गरी स्थानीय तहको दरबन्दी संरचना तयार पारिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।सरकारद्वारा हालै संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने संगठन संरचना र दरबन्दीको निक्र्योल गर्न सामान्य प्रशासन सचिवको संयोजकत्वमा गठित गरिएको व्यवस्थापन तथा सर्वेक्षण समिति (ओएन्ड एम) कमिटीले समेत तीनै तहको संगठन संरचना र दरबन्दी निर्धारण गर्दा यसैलाई आधार मान्ने भएको छ ।हाल निजामती क्षेत्रका ८६ हजार र स्थानीय तहका १८ हजार गरी १ लाख ४ हजार कर्मचारी छन् । यी कर्मचारीमध्ये झन्डै १० हजार कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन हालेका छन् ।संघमा बढीमा २० देखि २५ हजारसम्म कर्मचारी रहन सक्ने अनुमानविपरीत सरकारले अहिले बढी कर्मचारी प्रस्ताव गरेको पाइएको छ । अदालत र न्याय क्षेत्रसमेत संघीय सरकारकै अंग हुने भएकाले ती निकायमा आवश्यक पर्ने कर्मचारी पनि संघीय सरकारअन्तर्गत नै राखिएकाले संघमा कर्मचारीको संख्या बढी देखिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?