प्रहरीमा अब आन्तरिक बढुवा प्राथमिकतामा

काठमाडौं, १२ चैत- प्रहरी निरीक्षकको रिक्त दरबन्दीमा खुला तथा आन्तरिकबाट बराबरी भर्ना लिई पदपूर्ति गर्ने प्रस्ताव गरिएको छ । गृह मन्त्रालयमा आइतबार संघीय प्रहरी ऐनको मस्यौदामा भएको छलफलमा खुला र आन्तरिक बढुवाबाट ५०/५० प्रतिशतबाट पदपूर्ति गर्ने प्रस्ताव गरिएको हो ।संघीय प्रहरी ऐनको मस्यौदासम्बन्धी दोस्रो दिनको छलफलमा सहभागीहरूले अनुभवका आधारमा पनि आन्तरिक बढुवालाई प्रश्रय दिनुपर्ने धारणा राखेपछि ५० प्रतिशत आन्तरिक बढुवाको प्रस्ताव गरिएको हो । यसअघि खुलाबाट ६० प्रतिशत र आन्तरिक बढुवाबाट ४० प्रतिशत पदपूर्ति गरिने व्यवस्था थियो । मन्त्रालयको कानुन महाशाखाले तयार गरेको सो मस्यौदामा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव मोहनकृष्ण सापकोटा, सहसचिवहरू र उपसचिवहरूको सहभागिता रहेको छ ।मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री थापाले प्रहरी सहायक निरीक्षकको भर्नामा ६० प्रतिशत आन्तरिक बढुवाबाट गर्न र ४० प्रतिशत खुलाबाट पूदपूर्ति गर्न सुझाव दिएका थिए ।उनले आन्तरिक प्रतिस्पर्धा गराउँदा संगठनलाई बढी फाइदा हुने र अनुभवीहरूले प्राथमिकता पाउने भन्दै सो प्रस्ताव गरेका हुन् । अघिल्लो मस्यौदामा सो विषय उल्लेख थिएन, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?