काठमाडौँ, १० चैत- पार्टीभित्र गुटको नेता बन्दै ०५९ मा अलग्गै पार्टी गठन गरेका शेरबहादुर देउवा ०६४ मा पुरानै घर फर्किए । तर, एकीकरणपछि पनि पार्टीभित्र फरक धार स्थापित गर्ने अभ्यासमा निरन्तर जुटिरहे । अन्ततः सुशील कोइरालाको शेषपछि ०७२ फागुनमा कोइराला परिवारको बिरासत ढालेर उनी भारी मतले कांग्रेस सभापतिमा निर्वाचित भए । कोइराला खानदानको बलमा संस्थापन पक्षबाट निर्वाचन लडेका रामचन्द्र पौडेल पराजित भए । कांग्रेसमा ६ दशकभन्दा लामो कोइराला बिरासत ढाल्ने पहिलो व्यक्ति देउवा नै बने ।देउवाले कांग्रेसको नेतृत्व हाँकेको दुई वर्ष पूरा भइसकेको छ । पार्टी नेतृत्वमा उनको यो अवधि उतारचढावपूर्ण बित्यो । ३ चैत ०७२ देखि सभापतिको औपचारिक कार्यभार सम्हालेका उनले यो अवधिमा प्रतिपक्षमा रहेको पार्टीलाई माओवादीसँग मिलेर सत्तारूढ बनाए । सरकारको नेतृत्व आफैँले गरेर स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन फत्ते गराए । संविधानको विरोधमा रहेका मधेसी दललाई अन्ततः तीनै तहको निर्वाचनमा सहभागी गराउन सफल भए । स्थानीय तहको पहिलो चरणको निर्वाचन कांग्रेसको समर्थनमा बनेको माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको थियो भने दोस्रो र तेस्रो चरणको निर्वाचन माओवादीको सहयोगमा देउवाले गरेका हुन् । राजनीतिक ‘डेडलक’ खोल्न देउवाको भूमिका महत्वपूर्ण रह्यो ।तर, यी तीनै तहको निर्वाचन नतिजा कांग्रेसको पक्षमा कमजोर देखियो । निर्वाचन नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि पार्टीभित्रै उनी आलोचकहरूको घेराबन्दीमा छन् । एमाले– माओवादीको सत्ता गठबन्धन टुटाएर पहिले प्रचण्डलाई प्रधानमन्त्री बनाएर पछि आफैँ नेतृत्व लिएका उनी निर्वाचन नतिजाकै कारण सबैभन्दा बढी आलोचित भएका छन् ।आफूसँगै सत्तारूढ भएकै वेला माओवादीले एमालेसँग मिलेर वाम गठबन्धन बनाएको भेउ नपाएको आरोप उनीमाथि छ । दुई कम्युनिस्ट शक्तिको गठबन्धन फुटाउन प्रभावकारी भूमिका खेल्न नसकेको दोष पनि उनीमाथि छ । तर, देउवा भने आफूले नेतृत्व गर्दा कांग्रेस कमजोर नबनेको दाबी गर्छन् । कांग्रेस उत्तिकै बलियो रहेको तर दुई ठूला कम्युनिस्ट पार्टी मिल्दा पराजय भोग्नुपरेको उनको तर्क छ । समानुपातिक निर्वाचन प्रणालीमा एमालेकै हाराहारीमा मत आएको उदाहरण दिँदै देउवा कांग्रेस कमजोर नभएको दाबी गर्दैछन् । तर, प्रभावशाली नेता मात्रै होइन सातवटै प्रदेशमा एउटा पनि सरकार गठन गर्न नसक्ने मत आएपछि देउवा नेतृत्वमाथि सयौँ प्रश्न उठाइएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया