पोर्चुगलको सहज जित, रोनाल्डोले गरे शानदार गोल

काठमाडौं। गए राति भएको पोर्चुगल र इजरायल बिचको मैत्रीपूर्ण खेलमा पोर्चुगलले ४-० गोलको फराकिलो जित दर्ता गरेको छ।

युरो कप २०२० अघिको पोर्चुगलको अन्तिम मैत्रीपूर्ण खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गर्न सफल भए। पोर्चुगलको घरेलु मैदान लिस्बनमा खेलिएको खेलमा म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेजले उत्कृष्ट खेलको नमुना पस्किए।

ब्रुनोले खेलमा दुई गोल गर्दा रोनाल्डोको गोलको लागि शानदार असिस्ट समेत गरेका थिए। पहिलो हाफको ४२औं मिनेटमा ब्रूनोले खेलको पहिलो गोल गरे। त्यसको दुई मिनेट पश्चात कप्तान रोनाल्डोले पोर्चुगलको अग्रतालाई दोब्बर बनाए। रोनाल्डोले ब्रुनोको शानदार पासलाई ‘लेफ्ट फूटेड बुलेट शट’ प्रहार गरेका थिए।

पहिलो हाफमा राम्रो पकड बनाएको पोर्चुगलको दोस्रो हाफमा पनि अर्को दुई गोल थप्यो। खेलको ८६औं मिनेटमा म्यान्चेस्टर सिटीका फुलब्याक जाओ कान्सेलोले घरेलु टोलीका लागि तेस्रो गोल गरे। त्यसपछि खेलको अन्तिम मिनेटमा ब्रुनोले व्यक्तिगत दोस्रो तथा टोलीको चौथौं गोल गर्दा पोर्चुगलले सहज जित निकालेको हो।

शुक्रवारबाट शुरू हुने युरो कपमा पोर्चुगल समूह ‘एफ’मा रहेको छ। ‘ग्रुप अफ डेथ’ भनेर चर्चित यस समुहमा पोर्चुगलसँगै जर्मनी, फ्रान्स र हंगेरी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?