काठमाडौं । हातमा डबल ग्लब्स, मुखमा ट्रिपल मास्क,आँखामा सेफ्टी चस्मा, अनुहारमा फेस सिल्ड, शरीर ढाकिने गरि लगाइएको पीपीइ र खुट्टामा जुत्ता त्यसमाथि सुज कभर । बुझ्न सकिन्छ, यो कोभिड संक्रमित बिमारीको उपचारमा खट्ने स्वास्थ्यकर्मीले अनिवार्य रुपमा लगाउनै पर्ने ड्रेसकोड हो ।
कोरोनाको यो महामारीमा प्रत्येक स्वास्थ्यकर्मीले यो ड्रेसकोडमा रहेर न्यूनतम ८ घन्टा विमारीको उपचारमा खटिनै पर्छ । यसरी विमारीको उपचारमा खटिने स्वास्थ्यकर्मी बिमारीसँगै मज्जाले नाचिरहेका छन् ।
झट्ट देख्दा अनौठो लाग्ने यो दृश्य कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको हो । यहाँका स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित बिरामीको मनोबल बढाउनका लागि अस्पतालको वार्डमै पुगेर नाँचिरहेका हुन्छन् । यसरी पीपीईमा गुम्सिएर पनि बिरामीको मनोवल उच्च बनाउन सक्रिय एक नर्स हुन्, समिना पोखरेल । समिना दिनहुँ जसो यसरी नै वार्डमा नाच्ने गर्छिन् । बिरामीलाई पनि नाच्न प्रेरित गर्छिन् ।
कोरोनाको संक्रमणले मलिन अनुहार बनाएका बिरामीको मुहारमा उनको नृत्यले मुस्कान ल्याउने गर्छ । त्यसो त कतिपय बिरामी उनको हात समाउँदै सँगै नाच्न आइपुग्छन् भने कतिपय बेडमै बसेर ताली बजाएर रमाइलो गर्छन् ।
कीर्तिपुर अस्पतालमा यो दिनहुँ देखिने दृश्य हो । यो दृश्यले वरिपरिको माहोल नै संगीतमय बनाउने गर्छ । पछिल्लो समय कोरोना संक्रमितको उपचारमा सक्रिय अस्पतालका स्वास्थ्यकर्मी यसरी नै रमाइलो गरेर बिरामीको हौसला बढाइरहेका छन् । कोभिड–१९ को कुनै खास औषधि अहिलेसम्म पत्ता नलागेकाले लक्षण अनुसारको औषधि र उच्च मनोबललाई नै उपचारको मुख्य विधि मानिएको छ ।
एकातिर पीपीईमा गुम्सिएर काममा खट्नुपर्ने पीडा अर्कोतिर समाजको नकारात्मक दृष्टिकोण । यसकै चेपुवामा परेका छन्, स्वास्थ्यकर्मी ।
अस्पतालमा बढ्दो विरामीको चाप र सिमित संख्यामा रहेका स्वास्थ्यकर्मी । बिरामीे संख्या अनुसार जनशक्ति नहुँदा स्वास्थ्यकर्मीहरु कामको अत्याधिक बोझ पर्ने गरेको छ ।
पछिल्लो समय भेरी अस्पतालमा भएको घटना केवल उदाहरण मात्रै हो । यसअघि पनि विराटनगरको बिराट शिक्षण अस्पतालको आकस्मिक कक्षमै आक्रमण हुँदा स्वास्थ्यकर्मी घाइते भएका थिए । यी र यस्तै विषयमा ललितपुरको पाटन अस्पतालमा कार्यरत नर्स सृक्की शर्माले मर्मस्पर्शी कविता लेखेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया