प्रधानमन्त्रीको ‘चुप्पी’प्रति कांग्रेस सचेतक रोकायको आपत्ति, भने– ‘नबोलेरै देश बदल्ने अठोट लिएको हो ?’

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायले संघीय संसदमा प्रधानमन्त्री बालेन्द्र शाह खोजी भइरहँदा पनि चुपचाप बसेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै प्रमुख सचेतक रोकायले प्रधानमन्त्री शाहले नबोलेरै देशलाई चमत्कारिक रूपमा बदल्ने अठोट लिएको भन्दै कटाक्ष गरे ।

उनले संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहितामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई बोल्ने फुर्सद नै नभएको जस्तो देखिएको टिप्पणी गरे ।

प्रमुख सचेतक रोकायले भने, ‘हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीज्यूलाई बोल्ने पनि फुर्सद छैन । नबोलेरै देशलाई चमत्कारिक रूपमा बदल्ने अठोट गर्नुभएको छ । जसको परिणाम संसदले प्रधानमन्त्री खोजिरहेको छ । तर प्रधानमन्त्री व्यस्त हुनुहुन्छ, चुपचाप हुनुहुन्छ ।’

त्यसैगरी उनले देशभर क्यान्सरका बिरामीहरूले अत्यावश्यक औषधिको अभाव झेलिरहेको उल्लेख गर्दै तत्काल आपूर्ति व्यवस्था मिलाउन सरकारसँग माग गरे ।

रोकायले क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभावले बिरामीको जीवन जोखिममा परेको भन्दै नेपाल सरकारलाई शीघ्र व्यवस्थापन गर्न ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?