काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २५औँ वार्षिक साधारणसभामा सहभागी वक्ताहरूले नेपालमा पत्रकारिता क्षेत्र गम्भीर संकटमा परेको भन्दै राज्यका नीतिहरूको कडा आलोचना गरेका छन् ।
उनीहरूले विशेषगरी सरकारी विज्ञापन नीति र सामाजिक सञ्जालप्रति राज्यको दृष्टिकोणले प्रेस स्वतन्त्रता कमजोर बनाएको आरोप लगाएका छन् ।
वक्ताहरूका अनुसार सरकारले जीटुजी मोडेलमार्फत विज्ञापन वितरण गर्ने नीतिले निजी सञ्चारमाध्यमलाई कमजोर बनाएको छ । यसले साना मिडिया र श्रमजीवी पत्रकारहरूको रोजगारीमा प्रत्यक्ष असर परेको उनीहरूको भनाइ छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार किशोर नेपालले राज्यले विभिन्न बहानामा पत्रकारितामाथि निरन्तर हस्तक्षेप गरिरहेको टिप्पणी गर्दै सामाजिक सञ्जाल र संस्थागत पत्रकारितालाई एउटै रूपमा नहेर्नुपर्ने बताए । उनले पत्रकारिताको संस्थागत अस्तित्व जोगाउनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिदप्रसाद बागचन्दले हालको अवस्था पत्रकारिताका लागि सबैभन्दा ठूलो संकट भएको दाबी गर्दै सरकारले सामाजिक सञ्जाललाई प्राथमिक मिडिया जस्तो व्यवहार गर्न थालेको आरोप लगाए ।
उनले सरकारी विज्ञापन नीति परिवर्तनका कारण साना सञ्चारमाध्यम थप संकटमा परेको बताए ।
त्यस्तै नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल ले सरकार नै सञ्चार क्षेत्र कमजोर बनाउन लागिपरेको आरोप लगाउँदै मुख्यधार मिडियालाई कमजोर बनाएर सामाजिक सञ्जालमार्फत प्रोपागान्डा फैलाउने प्रयास भइरहेको दाबी गरे । उनले लोकतन्त्र र प्रेस स्वतन्त्रता जोगाउन सबै सञ्चारकर्मी एकजुट हुनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखानेपाल पत्रकार महासंघ काठमाडौं शाखा ले सरकारी विज्ञापन नीतिविरुद्ध आन्दोलनको घोषणा गर्दै जेठ १४ गते देशभरका पत्रपत्रिकालाई कालोपट्टीसहित प्रकाशन गर्न आह्वान गरेको छ । साथै सञ्चारकर्मीहरूलाई आन्दोलनमा सहभागी हुन आग्रह गरिएको छ ।
वक्ताहरूले सामाजिक सञ्जाललाई नै मिडिया मान्ने प्रवृत्ति बढ्दै गएको र यसले परम्परागत पत्रकारिताको विश्वसनीयतामा असर पारेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले राज्यले स्पष्ट नीति नबनाएको र सञ्चार क्षेत्रप्रति दृष्टिकोण अस्पष्ट भएको आरोप समेत लगाएका छन् ।
कार्यक्रममा सहभागीहरूले हालको सरकारी नीति, डिजिटल मिडियाको प्रभाव र राज्य–सञ्चार क्षेत्रबीचको सम्बन्धका कारण नेपालमा प्रेस स्वतन्त्रता र पत्रकारिताको भविष्य चुनौतीपूर्ण बन्दै गएको निष्कर्ष निकालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया