फेब्रुअरी २०२१ मा टी-ट्वेन्टी आईमा शतक प्रहार गर्ने पहिलो पाकिस्तानी विकेटकिपर बनेका रिजवान, गत महिना दक्षिण अफ्रिकाको टूरपछि आईसीसी वरियतामा ५ स्थान माथि उक्लिन सफल भएका हुन्। मोहम्मद रिजवानले दक्षिण अफ्रीका विरुद्धको ४ टी-ट्वेन्टी शृङ्खलामा १४७ रनको योगदान दिएका थिए। ३-१ ले सिरिज आफ्नो पक्षमा पारेको पाकिस्तानले तेस्रो खेलमा रिजवान र कप्तान बाबर आजमको ब्याटिङमा कीर्तिमान रच्यो। तिनको जोडीले १९७ रनको पहिलो विकेट पार्टनरशिप बनाउन सफल भएको थियो। भर्खरै सम्पन्न जिम्बाब्वेसँगको टी-ट्वेन्टी सिरिजमा पनि रिजवान ‘म्यान अफ दि सिरिज’ घोषित भए। उनले ३ खेलमा १८६ रन बनाएका थिए।

रिजवानको ब्याटिङ टी-ट्वेन्टीमा मात्रै सिमित छैन। उनी टी-ट्वेन्टी, एकदिवसीय र टेस्ट, तीनवटै फरम्याटमा शतक प्रहार गर्ने विश्वकै दोस्रो विकेटकिपर ब्याट्सम्यान हुन्। उनी न्युजिल्यान्डका पूर्व कप्तान ब्रेन्डन मेकुलमपछि यो कीर्तिमान कायम गर्ने एकमात्र खेलाडी हुन्।
रिजवानको क्रिकेट यात्रा हेर्ने हो भने उनले पाकिस्तानको लागि आफ्नो एकदिवसीय क्रिकेट डेब्यु बंगलादेश विरुद्ध सन् २०१५ मा गरेका थिए। आफ्नो पहिलो खेलमै अर्धशतक प्रहार गरेका रिजवानले सोही सिरिजमा आफ्नो टी-ट्वेन्टी आई डेब्यु पनि गरे।
सन् २०१६ मा रिजवानको क्रिकेट क्यारियरले अझै एक कदम बढायो। उनले न्युजिल्यान्डमा आफ्नो टेस्ट क्रिकेट यात्रा शुरु गरे। दुर्भाग्यवश, उनी आफ्नो पहिलो टेस्ट इन्निङमा ‘गोल्डेन डक’ आउट हुन पुगे।
तर पाकिस्तानी क्रिकेटमा ‘अपकमिङ ट्यालेन्टका’ रूपमा परिचित भइसकेका रिजवानले सन् २०१८ को ‘एसीसी ईमर्जिङ टिम्स एसिया कपमा’ पाकिस्तानको कप्तानी सम्हाले। त्यस प्रतियोगितामा पाकिस्तानले सेमी फाइनलसम्मको यात्रा तय गरेको थियो।
मार्च २०१९ मा अस्ट्रेलिया विरुद्धको एकदिवसीय खेलमा आफ्नो पहिलो शतक प्रहार गरेका रिजवानले २०१९ को क्रिकेट विश्वकपमा भने स्थान पाएनन्। तत्कालिन विकेटकिपर सर्फराज अहमदको कप्तानीमा विश्वकप खेल्न बेलायत प्रस्थान गरेको पाकिस्तानी टोलीले इमाम-उल्-हकलाई वैकल्पिक विकेटकिपरको रूपमा टिममा सम्मिलित गर्यो। पाकिस्तानले उक्त विश्वकपमा खराब प्रदर्शन गर्यो। आफ्नो ९ खेलमा पाकिस्तानले ५ मा जित निकाले पनि सेमीफाइनल पुग्न सकेन। विश्वव्यापीरूपमा सर्फराजको ब्याटिङ, विकेटकिपिङ र कप्तानीको ठूलो आलोचना भयो।

‘एकको हार, अर्कोको जित’ भनेझैं रिजवानको लागि सर्फराजको खराब प्रदर्शन वरदान सावित हुन पुग्यो। नभेम्बर २०१९ मा उनलाई श्रीलंका विरुद्धको शृङ्खलामा पाकिस्तानी टोलीमा फिर्ता बोलाइयो।
२०२० को शुरुवातमा कोरोना भाइरसले विश्वभर ताण्डव मच्चायो। त्यसै बिच पाकिस्तान क्रिकेट टोलीले सन् २०२० जुलाईमा इङ्ल्यान्डसँग टेस्ट शृङ्खला खेल्न बेलायत टुर गर्यो। रिजवानले इङ्ल्यान्डको गार्हो विकेटमा उत्कृष्ट ब्याटिङ तथा विकेटकिपिङको नमुना प्रस्तुत गरे। उनले त्यस सिरिजमा २ अर्धशतक सहित १६१ रनको योगदान दिए। उनी पाकिस्तानी ‘टेस्ट प्लेयर अफ दि सिरिज’ पनि घोषित भए। त्यो सिरिज रिजवानको क्यारियरको ‘टर्निङ पोइन्ट’ बन्न पुग्यो। त्यसपछि उनी पाकिस्तानी क्रिकेटका पहिलो चोइस विकेटकिपर बन्न सफल भए।
नभेम्बर २०२० मा न्युजिल्यान्ड विरुद्धको सिरिज रिजवानको लागि महत्वपूर्ण सावित भयो। सोही महिना पाकिस्तानी टेस्ट क्रिकेटका उप-कप्तान घोषित भएका रिजवानले न्युजिल्यान्डको घरेलु मैदानमा पहिलो पटक टेस्ट म्याचमा पाकिस्तानी टोलीको कप्तानी सम्हाल्ने मौका पाए। कप्तान बाबर आजम इन्जुरीका कारण टिमबाट बाहिरिएपछि रिजवानको काँधमा ठूलो जिम्मेवारी आइपुग्यो। पाकिस्तानले उक्त सिरिजमा निकै खराब प्रदर्शन गर्न पुग्यो। न्युजिल्यान्डले टेस्ट र टी-ट्वेन्टी, दुबै शृंखला कब्जा गर्यो तर रिजवानको साहस, आत्मविश्वास र व्यक्तिगत प्रदर्शनले उनलाई क्रिकेटिङ जगतमा नयाँ पहिचान दिलायो। उनले दुवै टेस्टमा कप्तानी भूमिका निभाउँदै पाकिस्तानको तर्फबाट सर्वाधिक २०२ रन बनाउन सफल भए। त्यो सिरिजभरि पाकिस्तानले केवल १ टी-ट्वेन्टी खेल जित्न सफल भयो जसमा पनि रिजवानले ८९ रनको योगदान दिए।

सन् २०२१ त झन् रिजवानको सर्वश्रेष्ठ वर्ष ठहरियो। उनी तीनवटै फर्म्याटमा पाकिस्तानी क्रिकेट टोलीको उप-कप्तान घोषित भए। पाकिस्तान सुपर लिग (पीएसएल) मा उनी मुल्तान सुल्तान्सका कप्तान पनि चुनिए। सन् १९९२ जुन १ तारिखमा जन्मिएका रिजवानले सन् २०२१ को पहिलो ४ महिनामै १० टी-ट्वेन्टी खेलमा ५३० रन बनाइसकेका छन्। १०६.० को औसतले उनले १ शतक र ५ अर्धशतक पनि लगाइसकेका छन्।
उनको उत्कृष्ट ब्याटिङ र विकेटकिपिङको चर्चा अहिले सम्पूर्ण क्रिकेटप्रेमीले गरिरहेको अवस्था छ। रोहित शर्मा, एविन लेविस, अन मोर्गन जस्ता वर्ल्ड क्लास ब्याट्सम्यानहरुलाई पछि पार्दै रिजवान आईसीसी टी-ट्वेन्टी आई वरियताको १० नम्बरमा उक्लिन सफल भएका छन्।

मोहम्मद रिजवानले पाकिस्तानी क्रिकेटलाई नयाँ उचाईमा पुर्याउने कुराको अपेक्षा गरिएको छ। कप्तान बाबर आजमसँग मिलेर रिजवानले पाकिस्तानी क्रिकेटको काँचुली फेरिरहेका छन्। त्यसैले ‘पाकिस्तानको शान, मोहम्मद रिजवान’ भन्न पटक्कै गलत हुँदैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया