२०७७ फागुनसम्म यस्तो रह्यो मुलुकको अर्थतन्त्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ (फागुन) महिना सम्मको मुलुकको आर्थिक अवस्था सार्वजनिक गरेको छ । जसअनुसार वैदेशिक व्यापार वृद्धि भएको देखिन्छ । त्यसैगरी निर्यात ७.८ प्रतिशत र आयात २.१ प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

२०७७ फागुन महिनासम्म यस्तो रह्यो मुलुकको अर्थतन्त्र :

वैदेशिक व्यापार

आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म कुल वस्तु व्यापार घाटा १.६ प्रतिशतले वृद्धि भई ८६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.३ प्रतिशतले घटेको थियो । यस अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको छ ।

निर्यात

फागुनम्म निर्यात ७.८ प्रतिशतले वृद्धि भई ८० अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ११.३ प्रतिशत र २.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा ४३.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल,तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ ।

आयात

आर्थिक वर्ष २०७७/७८ फागुनसम्म कुल वस्तु आयात २.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ४३ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.८ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः ७.१ प्रतिशत र १२.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपूर्जा, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाई जहाजका पार्टपूर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपूर्जा,भिडियो, टेलिभिजन तथा पार्टपूर्जा लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

कुल विदेशी विनिमय सञ्चिति

२०७७ असार मसान्तमा १४ सय १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७७ फागुन मसान्तमा १४ सय ३६ अर्ब ५४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२सय २६ अर्ब १२ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई १२ सय ६६ अर्ब १० करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ३.० प्रतिशतले कमी आई १७० अर्ब ४४ करोड कायम भएको छ । २०७७ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको मुद्राको अंश २७.६ प्रतिशत रहेको छ ।

सेवा

फागुन महिनासम्म खुद सेवा आय ३९ अर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ४ अर्ब २२ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९१.७ प्रतिशतले कमी आई ४ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय .५३ अर्ब ३६ करोड रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ५४.० प्रतिशतले कमी आई २२ अर्ब ६२ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय १८ अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४९ अर्ब १३ करोड रहेकोमा शिक्षातर्फको व्यय २३ अर्ब ९२ करोड रहेको थियो ।

चालू खाता एवम् शोधनान्तर स्थिति

चालू आर्थिक वर्षको फागुनसम्म शोधनान्तर स्थिति ६८ अर्बले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो । त्यस्तै,यस अवधिमा चालू खाता १४८ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ११९ अर्ब ७० करोडले घाटामा रहेको थियो । यस अवधीमा पुँजीगत ट्रान्सफर ६.८ प्रतिशतले वृद्धि आई ११ अर्ब ९१ करोड कायम भएको छ भने खुद प्रत्येक्ष वैदेशिक लगानी ३४.८ प्रतिशतले कमी आई १० अर्ब १८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ६१ करोड रहेको थियो ।

मुद्राप्रदाय

आर्थिक वर्ष २०७७÷७८ को फागुुन महिनासम्ममा विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ ।अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ७.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ फागुन मसान्तमा विस्तृत मुद्राप्रदाय २२.६ प्रतिशतले बढेको छ । यस अवधीमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) ६८ अर्ब १ करोड (५.१ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति ३७ अर्ब ८४ करोड (३.८ प्रतिशत) ले बढेको थियो । त्यस्तै, अवधिमा सञ्चित मुद्रा १०.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ०.२ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ फागुन मसान्तमा सञ्चित मुद्रा १३.६ प्रतिशतले बढेको छ ।

कुल आन्तरिक कर्जा

आर्थिक वर्ष २०७७/७८ को फागुन महिनासम्ममा कुल आन्तरिक कर्जा १२.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ फागुन मसान्तमा यस्तो कर्जा २१.९ प्रतिशतले बढेको छ । यस समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १७.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ११.३ प्रतिशतले बढेको थियो ।

निक्षेप परिचालन

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २१.९ प्रतिशतले बढेको छ । फागुनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.४ प्रतिशत, ३४.४ प्रतिशत र ४८.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.३ प्रतिशत, ३१.४ प्रतिशत र ५०.० प्रतिशत रहेको थियो । यस अवधीमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४२.१ प्रतिशत छ । २०७६ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ४४.९ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह

यस अवधिमा बैंक तथा वित्तिय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ फागुन मसान्तमा बैंक तथा वित्तिय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९.४ प्रतिशतले बढेको छ ।
यस अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १७.३ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २१.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.१ प्रतिशतले बढेको छ ।

तरलता व्यवस्थापन

आर्थिक वर्ष २०७७/७८ को फागुन महिनामा रिभर्स रिपोमार्फत् १०९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरण मार्फत् १९३ अर्ब ७५ करोड गरी कुल ३०३ अर्ब २९ करोड तरलता प्रशोचन गरिएको छ भने स्थायी तरलता सुविधामार्फत २ अर्ब तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् २८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब गरी कुल ५८ अर्ब तरलता प्रशोचन भएको थियो भने रिपोमार्फत् ११३ अर्ब ९९ करोड र स्थायी तरलता सुविधामार्फत ६९ अर्ब ५५ करोड गरी कुल १८३ अर्ब ५४ करोड तरलता प्रवाह गरिएको थियो ।

अन्तर–बैंक कारोबार

आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म वाणिज्य बैंकहरुको ५९८ अर्ब ६१ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरु बाहेक) को १४६ अर्ब ७० करोड गरी कुल ७४५ अर्ब ३१ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको १२२७ अर्ब ६३ करोड र अन्य वित्तीय संस्थाहरुको ११० अर्ब ५ करोड गरी कुल १३३७ अर्ब ६८ करोड अन्तर बैंक कारोबार भएको थियो ।

वित्तीय पहुँच

चालू आर्थिक वर्षको फागुनसम्म कुल ७५३ स्थानीय तहमध्ये ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन्। २०७६ फागुनसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । बैंक तथा वित्तिय संस्थाहरुको संख्या २०७७ फागुन मसान्तमा १४३ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्। बैंक तथा वित्तिय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ फागुन मसान्तमा १०,४३० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?