भियतनामका नवनियुक्त राष्ट्रपति फूकले लिए सपथ

काठमाडौं ।  भियतनामका नवनियुक्त राष्ट्रपति नुएन झुआन फूकले सपथ लिएका छन्  । आज (सोमवार) फूकले औपचारिक रुपमा राष्ट्रपति पदकाे  सपथ लिएका हुन् ।

उनले भियतनाममा कोरोना भाइरस महामारी नियन्त्रणमा सफलतापूर्वक भूमिका निर्वाह गरेका थिए ।

भियतनामको पाँच वर्षसम्म प्रधानमन्त्री रहेका ६६ वर्षीय फूकको कार्यकालमा भियतनामको अर्थतन्त्र तिब्र रुपमा विकास भएको थियो । उनको सरकारले कोभिड–१९ को नियन्त्रणमा प्राप्त गरेको सफलतालाई देशभित्र र बाहिर निकै प्रशंसा गरिएको थियो ।

सोमवार सम्पन्न गोप्य मतदानमा फूकले ५०० सदस्यीय राष्ट्रिय सभामा धेरै मत प्राप्त गरेका थिए ।

भियतनाममा कम्युनिष्ट पार्टीको शासन रहेको छ र त्यहाँ पार्टीका महासचिव, राष्ट्रपति र प्रधानमन्त्रीमा शासनको बागडोर रहेको छ । महत्वपूर्ण निर्णयहरु १८ सदस्यीय पोलिटब्युरोले गर्ने प्रचलन छ ।

राष्ट्रपति समेत रहेका ७६ वर्षीय नुयेन फू ट्रोङ भियतनाम कम्युनिष्ट पार्टीको महासचिवमा गत जनवरीमा चुनिएपछि राष्ट्रपति पद रिक्त थियो । त्यसपछि फूक राष्ट्रपति पदका एक्ला दाबेदार थिए ।

सपथ ग्रहणपश्चात नवनियुक्त राष्ट्रपति फूकले आफूले देशको उच्च पदमा रहेर सेवा गर्ने अवसर प्राप्त गरेकामा खुशी व्यक्त गरे ।

भियतनामी कम्युनिष्ट पार्टीको पोलिटब्युरो नेताहरुको उमेर सामान्यतया ६५ रहेको छ, तर दुई नेताका लागि उमेरको हदलाई हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?