रुकुमपूर्व । सिस्ने गाउँपालिका–८ धपेमा रहेको जामाखोला लघुजलविद्युत आयोजना पुनर्निर्माण गरी सञ्चालन गरिएको छ । पहिरोले विद्युत गृह बगाएर अवरुद्ध भएको दुई वर्षपछि विद्युत पुनर्निर्माण गरी सञ्चालन गरिएको हो ।
शुरुमा २०७२ माघ २६ गते उद्घाटन गरी सञ्चालन भएको ९० किलावाटको विद्युत आयोजना करीब चार वर्षसम्म चलेर बन्द भएको थियो । पहिले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको दुई करोड १३ लाख र जनश्रमदान गरी करीब चार लाखमा निर्माण गरिएको विद्युत २०७५ असोज ५ गते राति आएको पहिराले क्षति गरेपछि अवरुद्ध भएको थियो । विद्युत गृहको माथिबाट आएको पहिराले विद्युत गृह पूर्णरुपमा क्षति भएपछि त्यसपछिका दुई वर्षको अवधिमा वडा नं ८ का सबै र ७ नं वडाका केही ठाउँका स्थानीयवासीले नेपाल विद्युत प्राधिकरणको विद्युत उपभोग गरेका थिए ।
अहिले करीब ४० लाखको बजेटमा विद्युत पुनर्निर्माण गरी सञ्चालन गरिएको रुकुमपूर्व, जामाखोला लघुजलविद्युत उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर बुढाले जानकारी दिए । उनका अनुसार विद्युत सेवा सञ्चालन भएपछि केही समय अँध्यारोमा बस्न बाध्य भएका स्थानीयवासीले फेरि बिजुली बाल्न पाएका छन् ।
आयोजनाबाट वडा नं ८ का सबै टोल र साबिकको ७ नम्बर वडाका जनता लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष बुढाले बताए । अवरुद्ध विद्युत सेवा पुनर्निर्माण भई सञ्चालनपछि स्थानीयवासी हर्षित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया