काठमाडौँ– नेपाली कांग्रेसले बैतडीकी भागरथी भट्टको हत्याको यथार्थ बुझ्न पठाइएका केन्द्रीय सदस्य रमेश लेखकले आज घटनाको बारेमा स्थलगत अवलोकन गरेका छन् ।
उनले भागरथीका परिवार, जनप्रतिनिधि र प्रहरीले गरेको अनुसन्धानका विषयमा पनि जानकारी लिएका छन् । पूर्वमन्त्री रमेश लेखकले भागरथीका परिवारसँग घरमै पुगेर भेटघाट गरेका हुन् । भेटघाटका क्रममा उनले भागरथीका हत्यारा पत्ता लगाउन आफ्नो पार्टीले सबै पक्षबाट सहयोग गर्ने बताए ।
सो अवसरमा कांग्रेसले मृतकका आमा द्रोपती भट्टलाई रु दुई लाख नगद सहयोग प्रदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यालयले पठाएको सहयोग रकम नेता लेखकले मृतकका आमालाई हस्तान्तरण गरेका हुन् । नेता लेखकले भागरथी हत्या प्रकरणको अनुसन्धान गरिरहेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसँग अनुसन्धानका बारेमा जानकारी लिएका थिए ।
डीआइजी सुवेदीले अनुसन्धान साघुरिँदै गएकोले छिट्टै दोषी पत्ता लाग्ने बताए । गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् । भागरथीको न्यायका लागि बैतडीमा आन्दोलनका कार्यक्रम पनि जारी रहेका छन् ।
हत्यारालाई पक्राउ गर्नुपर्ने माग गर्दै बैतडीमा आँखामा पट्टी बाँधेर तथा हातमा मैनबत्ती बालेर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको छ । भागरथीको हत्यारा पत्ता नलागेको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया