निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले आगामी वैशाख १७ र २७ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।

निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र शान्तिपूर्ण बनाउन गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले निर्वाचनको तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ। उक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित गृह र अर्थ सचिव तथा तीनवटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो।

बैठकमा गृहमन्त्री थापाले मुलुक निर्वाचनतर्फ केन्द्रित भइसकेकाले सुरक्षाका लागि आवश्यक तयारीमा जुट्न तीनै सुरक्षा निकायलाई निर्देशन दिएकाछन्।

अर्थमन्त्री पौडेलले विगतमा निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्ययितालाई ध्यानमा राखेर गृहमन्त्रालयमार्फत निर्वाचन केन्द्रित बजेट प्रस्ताव पेश गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन। मन्त्री पौडेलले निर्वाचनका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाएको गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकमा सुरक्षा निकायका प्रमुखले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने स्रोत साधन तथा व्यवस्थापनका सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?