राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि शुरु, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज शुक्रवारदेखी शुरु हुँदैछ । प्रतिनिधिसभा विघटन भएको र यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु हुन लागेको हो ।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार दिउँसो ४ बजे बस्ने गरी राष्ट्रिय सभाको पहिलो बैठकको सम्भावित कार्यसूची तय गरेको छ ।

आजको बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र राष्ट्रिय सभा अध्यक्षले पढेर सुनाउने, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनुका साथै राष्ट्रिय सभाका अध्यक्षबाट जारी भएको राष्ट्रिय सभाका समितिहरुको गठन सम्बन्धी आदेश २०७७ अनुमोदनका लागि पेश हुनेछ भने अधिवेशनको पहिलो बैठक भएको हुनाले संसदीय दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी(पहिलो संशोधन) अध्यादेश २०७७, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)(पहिलो संशोधन) अध्यादेश २०७७ र सामाजिक सुरक्षा(पहिलो संशोधन) अध्यादेश, २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले औषधी(तेस्रो संशोधन) अध्यादेश २०७७ पेश गर्ने तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी, प्रतिनिधि सभा सदस्यद्धय सानु सिवा र सूर्यबहादुर के.सी, प्रतिनिधिका पूर्व सदस्य ओमकारप्रसाद गौचन र राष्ट्रिय सभाका पूर्व सदस्यद्धय दिपकबहादुर गुरुङ र इन्द्रहाङ लिम्बुको निधनमा राष्ट्रिय सभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?