काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएको बताएका छन् ।
बुधवार काठमाडौंमा अखिल नेपाल महिला संघले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले केही मान्छेहरुलाई बालुवाटारमा भेला गरेर अराजकता मच्चाएको बताएका हुन् ।
बालुवाटारमा संविधान विरोधी, लोकतन्त्र विरोधी र अराजक मान्छेहरुलाई मात्रै भेला हुने गरेको र त्यसको नायक प्रधानमन्त्री ओली नै रहेको बताए । उनले भने, ‘केपी ओलीले केही मान्छेहरुलाई पालेर जसरी बालुवाटारमा भेला गरेका छन त्यो भेला भनेको एउटा गुटको भेला हो । त्यो संविधान विरोधी भेला हो । त्यो लोकतन्त्र विरोधी भेला हो । त्यो अराजक मान्छेहरुको भेला हो । त्यो मुलुकलाई लुटपाट गरेर खाने मान्छेहरुको भेला हो । त्यसको नायक अहिले केपी ओली बन्न पुगेका छन् ।’
आफैले हस्ताक्षर गरी निर्माण गरेको संविधानमाथि प्रधानमन्त्री ओलीले बलत्कार गरेको समेत वरिष्ठ नेता खनालले बताएका छन् ।
संविधानमा नभएको व्यवस्था प्रयोग गरी संसद विघटन गरिनु संविधान नै विघटन गरेको हुने बताए । प्रधानमन्त्री ओलीमा देखिदै गएको स्खलनका कारण संविधानलाई नै अस्वीकार अवस्थामा पुगेको बताए । उनले भने, ‘संविधान निर्माण गरिसकेपछि उनले पनि हस्ताक्षर गरेका छन् तर आज आफ्नै हस्ताक्षरलाई उनले बलत्कार गरेका छन् । देशमाथि आक्रमण गरेका छन् र संविधानको मर्म र भावनाका विपरित उनले अहिले फेरी संसदको विघटन गरेका छन् । संसदको विघटन भनेको संविधानको विघटन हो । संविधानलाई प्वाल पार्ने काम हो । संविधानलाई विध्वंस गर्ने काम हो ।’
देशमा भएको अस्थिरतालाई समाप्त गरी स्थिरता आएको अवस्थामा फेरी प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ धकेलिदिएको पनि वरिष्ठ नेता खनालले बताए । एक पटक संसद विघटन गरेपछि फेरी चुनाव भएपनि अव बन्ने प्रधानमन्त्रीले समेत संसद विघटन गर्न सक्ने अधिकार राख्ने बताए । एक पटकको नजिरमा टेकेर फेरीपनि यस्ता कदम आउने भएकाले संसद पुनरस्थापनाको विकल्पन नभएको पनि बताए । उनले भने, ‘अब मानिलिउँ वैशाखमा चुनाव भयो कुनैपनि बेलामा चुनाव भयो चुनाव भएर सरकार बन्यो भनेपनि कुनैपनि प्रधानमन्त्रीले यो संसद कुनैपनि बेलामा विघटन गर्न सक्छन् । अव यो नजिर हुन्छ । यदी यसलाई नजिरको रुपमा स्थापना गर्ने हो भने हाम्रो मुलुक जसरी विगत ५०÷६०÷७० वर्षसम्म अस्थिरताको सिकार भयो फेरी त्यो अस्थिरताको सिकार हुने दिशातर्फ अगाडि बढ्छ ।’
रानीतिक दल सम्बन्धी ऐनको धारा ३३ अनुसार कुनैपनि दुई पार्टी मिलेर बनेको एकीकृत पार्टीलाई ५ वर्षसम्म फुटाउन नमिल्ने बताए । तर फुटाउनै पर्ने परिस्थिति भएपनि संसदीय दलमा र केन्द्रीय समितिमा ४०/४० प्रतिशत हुनैपर्ने बताए । अहिलेको नेकपामा ४० प्रतिशत पनि ओलीसँग नरहेकाले पार्टी फुटाउनै नसक्ने पनि वरिष्ठ नेता खनालले बताए ।
नेपालको कम्युनिष्ट आन्दोलनमा कहिले उग्रबामपन्थी र कहिले दक्षिण बामपन्थी भडकाउहरु हाबी भएको उल्लेख गर्दै अहिलेका ओली पनि दक्षिणपन्थी भडकाउ भएको बताए । प्रधानमन्त्री ओलीले सत्तामा पुग्न पार्टीलाई भ¥याङ मात्रै बनाएको आरोप समेत लगाए ।
राजा महेन्द्रले देशमा विभिन्न उद्योगधन्दाहरु निर्माण गरी समाजवादसँग मिल्दो काम गरेको तर समाजवादको नारा बोकेर हिँडेको कम्युनिष्ट पार्टीका नेता ओलीले प्रधानमन्त्री भएपछि केहीपनि काम गर्न नसकेको बताए । प्रधानमन्त्री ओलीले काम भन्दा धेरै गफ गरेको समेत बताए । उनले भने, ‘धेरै गफ गर्ने, उखान टुक्काहरु हाल्ने, मान्छेहरुलाई लिने, घरघरमा ग्यास चुल्हो ल्याइदिन्छु भन्ने खै कहाँ आयो ग्यास चुल्हो । त्यहिं बालुवाटारमा पनि छ की छैन ग्यास चुल्हो । ग्यास पाइप ।’
प्रधानमन्त्री ओलीका कारण नेपालको कम्युनिष्ट आन्दोलन नै लज्जित भएको पनि वरिष्ठ नेता खनालले बताउनुभयो । ओली कम्युनिष्ट आन्दोलका सबैभन्दा कलंकित पात्र भएको समेत बताए ।
संसद विघटनको विषय अदालतमा विचाराधिन रहेपनि आफूहरुले अदालतलाई पर्खेर बस्न नसक्ने समेत वरिष्ठ नेता खनालले बताए ।
उनले भने, ‘अहिले संघर्षमा जानुको हामीसँग कुनै विकल्प छैन । हामी अदालतले के गर्छ त्यो पर्खेर बस्न पनि सक्थ्यौं तर अदालतले गर्ने कुराहरु के हो भनेर पर्खिने अवस्था हामीलाई भएन । किनभने यो संविधान माथिको अत्यन्त ठूलो आक्रमण हो । संविधान माथिको आक्रमण, लोकतन्त्र माथिको आक्रमण हो । हाम्रो जीवन माथिको आक्रमण हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया