काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङहे बिहान काठमाडौं आइपुगेका छन् । सुरक्षा तथा सैन्य लगायत द्विपक्षीय सैनिक सहयोगका विषयमा छलफल गर्न उनी २० सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल भ्रमणमा आएका हुन् ।
भ्रमणका क्रममा पूर्वघोषित ३ सय मिलियन आरएमबी सैन्य सहयोग हस्तान्तरण बारे छलफल हुने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले असार पहिलो साता गरेको चीन भ्रमणका क्रममा १ सय ५० आरएमबी सैन्य सहयोग गर्ने साथै त्यस लगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा थप १ सय ५० मिलियन आरएमबी सैन्य सहयोग गर्ने सहमति भएतापनि कार्यान्वयन भने हुन सकेको थिएन। यस विषयमा आज जंगी अड्डामा छलफल हुने बताइएको छ ।
नेपाल आएर उनी पहिले बालुवाटारस्थित चिनियाँ दूतावासमा गएर दिवा भोजमा सामेल हुने र त्यसपछि औपचारिक वार्ताका लागि जंगी अड्डा जाने कार्यक्रम तय भएको छ ।
यो भ्रमणमा कुनै नयाँ सहयोगको घोषणा गर्ने चिनियाँ पक्षको तयारी नभएतापनि कोभिड १९ महामारीका कारण रोकिएका अन्य कार्यक्रमहरु पुनः सञ्चालन गर्ने विषयमा चिनियाँ रक्षामन्त्रीसँग छलफल हुने बताइएको छ ।
उनी आजै बेलुका स्वदेश फर्किने कार्यक्रम रहेको छ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि हुन लागेको यो अर्को उच्चस्तरीय भ्रमण हो ।
यसअघि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगाला गत बिहीवार नेपाल भ्रमणमा आएका थिए ।
के तपाईले यसअघिको समाचार पढ्नुभयो ?
काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री वेई, के के छन् कार्यक्रमहरु ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया