भावी आईजीपीमा विश्वराज पोखरेलको बाटो क्लियर !

काठमाडौं । नेकपा नेतृत्वको सरकारले नेपाल प्रहरी संगठनको उच्च तहमा केही दरबन्दी थप गरेको छ । सो दरबन्दी थपसँगै नेपाल प्रहरीको आगामी नेतृत्वमा को चयन हुने भन्नेमा अहिले नै करिब स्पष्ट जस्तै भएको छ । सधैँ नेपाल प्रहरीभित्र नेतृत्वको विषयमा विवाद हुँदै आएकोमा पछिल्लो पटक यस्ता विवाद कम हुँदै आएको छ ।

पछिल्लो समय शेरबहादुर देउवा नेतृत्व सरकारले प्रहरी संगठनलाई नराम्ररी गिजोलेको थियो भने त्यतिबेला देउवाको चाहनामा जयबहादुर चन्दलाई आईजीपी बनाउने कोसिस भएको थियो । तर सो प्रकरण अदालतसम्म पुगेर जयबहादुर आईजीपी बन्ने बाटो त बन्द भयो नै कल्पना नै नगरिएका प्रकाश अर्यालको कार्य सम्पादन मूल्यांकन बढी देखिएपछि आईजीपी बनेका थिए । त्यसपछि आईजीपी बनेका सर्वेन्द्र खनालको नियुक्तिपनि केही विवादित बन्न पुग्यो भने सोही कारण रमेश खरेलले राजीनामा दिएर हिँडे ।

हुन त सर्वेन्द्रको विवादको नालीबेली लामो रहेको रहेको छ । तर यहाँ मात्र त्यससताका आईजीपी नियुक्तिसहज ढंगले हुँदै आएको र हाल ओली सरकारले थप गरेको नयाँ दरबन्दी सँगै नियुक्तिमा अस्वस्थ प्रतिस्पर्धाको बाटो रोकिएको ठानिएको छ ।

ओली सरकार प्रहरी संगठनलाई गिजोल्नु भन्दा यसलाई व्यवस्थित बनाएर अघि बढ्नुपर्ने पक्षमा रहेको छ । अझ योग्य र क्षमतावानलाई नेतृत्वको मौका दिनुपर्नेमा पनि स्पष्ट रहेको छ ।

स्रोतका अनुसार गृहमन्त्रालय त्यसमा पनि गृहमन्त्री र गृहसचिवकै चाहनाविपरित हालैको मन्त्रिपरिषद् बैठकले एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी गरिएको छ । गृहमन्त्री रामबहादुर थापाको चाहनाविपरित नै ओलीले संगठनलाई व्यवस्थित बनाउनकै लागि दरबन्दी थप गर्ने निर्णय लिएको एक मन्त्रीले बताए ।

गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख (सहसचिव) थानेश्वर गौतमले गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी थप गरेको बताए ।

थपिएको एआईजी पदमा बढुवाका लागि डीआईजीहरु विश्वराज पोखरेल, सहकुलबहादुर थापा र धीरजप्रताप सिंह प्रतिष्पर्धामा छन् । पोखरेल महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सिंह प्रदेश नम्बर २ प्रहरी कार्यालयमा कार्यरत छन् ।

यसअघि हरिबहादुर पाल, निरज शाही र प्रधुम्न कार्कीको एआईजीमा बढुवा भएपछि तीन डीआईजीको दरबन्दी खाली थियो । थपिएकोसँगै ८ वटा दरबन्दी खाली भएको छ ।

त्यसमा गणेश ऐर, पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा र रामकृपाल शाह, उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँले प्रतिष्पर्धा गर्नेछन् ।

दरबन्दी थप भएसँगै रिक्त दरबन्दीको लागि प्रहरी प्रधान कार्यालयले बढुवा प्रक्रिया अगाडि बढाएको छ ।

स्रोतका अनुसार एआईजीको दावेदारमा सबैभन्दा अगाडि विश्वराज पोखरेल रहेका छन् । यसअघि नै पनि उनी एआईजी बढुवाको प्रमुख दावेदार थिए । तर संगठनभित्रको खिचातानीले उनी एआईजीमा बढुवा हुनबाट रोकिएका थिए ।

अहिले भने पोखरेल सबैभन्दा सिनियर डीआईजी हुन् । थपिएको एआईजी पदमा बढुवाका लागि ११ जना डीआईजीहरु प्रतिस्पर्धामा छन् । डीआईजी पोखरेल, घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वर बाबु कार्की, सहकुल बहादुर थापा, धीरज प्रताप सिंह, बसन्त कुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुण कुमार बिसी प्रतिस्पर्धामा रहेका हुन् ।

अर्याल, कार्की, पन्त र ईश्वरबाबु कार्की वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसँगै २०४९ वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् । आईजीपीकै ब्याचमेट गणेशबहादुर ऐर र पुरुषोत्तम कँडेल अहिले पनि एसएसपी नै छन् । ऐर र कँडेलसँगै घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र बसन्त कुमार पन्तलाई पछि पार्दै पोखरेल एसएसपीबाट २०७६ वैशाख १९ गते डीआईजीमा बढुवा भएका थिए ।

उनै पोखरेल अब एआईजीमा सहजै बढुवा हुँदै आईजीपी बन्ने निश्चित रहेको प्रहरी वृत्तमा चर्चा सुरु भइसकेको छ ।
हाल पोखरेलले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्व सम्हालेका छन् भने उनले हालसम्म आफ्नो कार्यक्षेत्रमा राम्रो कार्यसम्पादन समेत गरेका छन् ।

प्रहरीका एक उच्च अधिकारीका अनुसार सरकारको पछिल्लो निर्णयअनुसार आईजीपीमा प्रतिस्पर्धाको बाटो बन्द भएको छ । अर्थात पोखरेललाई मार्ग प्रशस्त भएको छ । हालका एआईजीहरु आईजीपी थापाकै ब्याचमेट भएकाले उनीहरुको सम्भावना हुने कुरै रहेन । उनीहरुले २०७९ वैशाख १९ गते अवकाश पाउँछन् । जसअनुसार झण्डै एक वर्ष प्रहरीको नेतृत्व पोखेलले गर्ने देखिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?